जनसाधारणलाई दिग्भ्रमित बनाउने काममा न्यायपालिका पनि अछुतो छैन : राष्ट्रपति

जनसाधारणलाई दिग्भ्रमित बनाउने काममा न्यायपालिका पनि अछुतो छैन : राष्ट्रपति

काठमाडौँ, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले समयमा न्याय पाउन नसके अदालतका फैसला केवल कागजमा मात्र सीमित हुने बताएकी छिन् । सर्वोच्च अदालतको आयोजनामा न्यायाधीशको आजदेखि शुरु भएको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले न्यायालयले जनआस्था वृद्धि गर्न समयमै न्याय दिनुपर्नेमा जोड दिइन् ।

“समयमै न्याय नपाउँदा फैसला केबल कागजमा मात्र सीमित बन्न पुग्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “ढिला न्याय दिनु, न्याय नदिनु सरह हो भन्ने तथ्यलाई सबै पक्षले ध्यान पुर्याउन जरुरी छ ।”

राष्ट्रपति भण्डारीले जिम्मेवार र संवेदनशीलले न्यायलयले स्रोत र साधनको कमी देखाएर न्यायमा ढिलाइ गर्नु अन्यायलाई सघाउनुहुन्छ भन्नेतर्फ ध्यानाकर्षण गराइन् । उनले न्यायपालिकाको स्वतन्त्रका लागि न्यायमूर्तिमा न्यायिक निष्ठा, लगनशीलता र सदाचारजस्ता गुण हुनु जरुरी रहेको बताइन् ।

न्यायपालिकालाई शुद्धीकरण गर्न न्यायिक नेतृत्वबाट पछिल्लो समयमा चालिएको कदमलाई सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राज्यका कामकारवाहीप्रति अनास्था फैलाउने र आधारहीन कुरा उठाएर जनसाधारणलाई दिग्भ्रमित बनाउने काममा न्यायपालिका पनि अछुतो नरहेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, “कुनै एक व्यक्तिको व्यवहार र आचरणले समग्र संस्थाको विश्वसनीयता र मर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै निरुत्साहित गर्न जरुरी छ ।”

उनले न्यायपालिकाको गरिमालाई उच्च राख्न सम्मेलनले थप प्रेरणा पुरयाउने विश्वास समेत व्यक्त गरिन्। न्यायिक काम कारवाहीमा इमान्दारी, निष्पक्षता, स्वच्छता, समानता र पारदर्शीतासहित क्रियाशील हुनपर्ने बताउँदै राष्ट्रपति भण्डारीले स्थानीय तहबाट हुने न्याय सम्पादन स्वतन्त्र र निष्पक्ष बनाउन न्यायपालिकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सान्दर्भिक हुने उल्लेख गरिन् ।

उनले मुलुकी देवानी र फौजदारी संहितासहित सम्पूर्ण कानून कार्यान्वयनमा न्यायपालिकाको अग्रणी भूमिका रहेकाले अदालतको प्रतिष्ठा अभिवृद्धि गर्न स्पष्ट रणनीति र कार्यनीति अवलम्वन गर्न जरुरी रहेको समेत बताइन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले पवित्र उद्देश्यका साथ न्यायिक शुद्धीकरण अभियान शुरु गरिएको बताए ।न्यायपालिकामा जनआस्था वृद्धि गर्ने पवित्र उद्देश्यले न्यायिक शुद्धीकरण शुरु गरिएको हो, उनले भने, यो कदमलाई स्वभाविकरुपमा लिन म आग्रह गर्दछु ।” न्यायलयप्रति हुने विभिन्न किसिमका टिप्पणीले गर्दा न्यायपालिकाप्रतिको जनआस्थामा असर पर्नसक्नेतर्फ सम्पूर्ण काम कारवाही र व्यवहारमा न्यायाधीशले ध्यान दिनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले न्यायपालिकाको काम कारवाही जनउत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले न्यायलयले जनउत्तरदायी तरिकाले काम गर्नुपर्छ, छिटो न्याय र गरीबका लागि निःशुल्क न्याय दिने व्यवस्था मिलाउनुपर्नेमा जाेडदिए। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले स्वतन्त्र र निष्पक्ष न्यायलाई सरकाले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

महान्यायाधिवक्ता अग्नि खरेलले न्यायलयलाई जनआस्थाको निष्ठाको धरोधर बनाउन सम्मेलनले थप सहयोग पुरयाउने विश्वास व्यक्त गरे । नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष राख्नका लागि त्यसभित्रका विकृति र विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिए । सम्मेलनमा देशभरबाट ३९३ न्यायाधीशले भाग लिएका छन् ।सम्मेलनले भावी कार्यदिशासहितको घोषणापत्र जारी गर्नेछ । रासस