उपत्यकाको सडक विस्तार ठप्प, कहाँ कुन आयोजना अलपत्र ?

उपत्यकाको सडक विस्तार ठप्प, कहाँ कुन आयोजना अलपत्र ?

काठमाडौं । चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् ।

सर्वोच्चले फैसला गरेको करिब चार महिना बित्दा पनि फैसलाको पूर्णपाठ तयार भएको छैन । जसले गर्दा सडक विस्तार आयोजनाले काम अघि बढाउन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयले पनि के गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

विस्तारित सडक दायाँबायाँका स्थानीय बासिन्दाले सामूहिक रूपमै मुआब्जाको माग चर्काउँदै लगेका छन् । ‘मुआब्जा पाइएपछि मात्रै भत्काउन दिने भनेर विस्तारको काम ठप्प पारिएको छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले भने । केही सडकमा भने काम अघि नबढाउने अदालतकै अन्तरिम आदेश रहेको उनले बताए ।

उपत्यकामा १० सडक र तीनवटा पुल विस्तार
काठमाडौं उपत्यकामा अहिले १० सडक र तीनवटा पुल विस्तारको काम भइरहेको छ । तीमध्ये एउटा सडकमा मात्र सडक विस्तारको काम भइरहेको छ । इमाडोल सिद्धिपुर–गोदावरी खोला–लुभु–लामाटार सडकमा मात्र काम भइरहेको केसीले बताए । अरनिको राजमार्गमा पर्ने धोबीखोला पुलमा काम भइरहेको छ ।

के छ सर्वोच्चको फैसलामा ?
मुआब्जा नपाई घर भत्काउन नपाउने तथा जग्गा अधिग्रहण गर्न नपाउने भन्दै सानु श्रेष्ठलगायत ४७ जनाले ९ माघ ०७३ मा सडक विस्तार कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । गत २ असोजमा न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले सो रिटको पक्षमा फैसला दिएको थियो ।

सर्वोच्चबाट फैसलाको पूर्णपाठ प्राप्त गर्न प्रयास गरे पनि व्यस्तताका कारण ढिलाइ भइरहेको जवाफ पाएको महान्यायाधिवक्ता कार्यालयकी सहन्यायाधिवक्ता रमादेवी पराजुलीले बताइन् । ‘पूर्णपाठको सम्बन्धमा सरकारी कार्यालयदेखि स्थानीय नागरिकले समेत चासो राखिरहेका छन्,’ उनले भनिन्, ‘तर, ढिलाइ भइरहेको छ ।’

ढिलाइका अन्य कारण
अदालतको फैसला र अन्तरिम आदेशबाहेक अन्य कारणले पनि सडक विस्तार रोकिएको छ । विद्युत् र टेलिफोनका पोल समयमा स्थानान्तर नहुनु, सडक विस्तार क्षेत्रभित्र परेका रूख कटानमा ढिलाइ हुनु, घर भत्काउने विषयमा पुरानो नापी र नयाँ नापीको विवाद निकाली घर भत्काउन नदिनु, खानेपानी र ढल ‘लिकेज’ भई सतहमा बग्नुलाई पनि सडक विस्तारको बाधक मानिएको छ ।

डेढ वर्षसम्म म्याद बढाउने तयारी
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्काको म्याद सकिएका कम्पनीलाई औचित्य र ढिलाइ हुनुको विभिन्न अवस्था हेरेर डेढ वर्षसम्मको म्याद थप गर्ने जानकारी दिएको छ । अधिकांश कम्पनीको आफ्नै बेवास्ताका कारणले भन्दा पनि अन्य समस्याका कारण भौतिक प्रगति हुन नसकेकाले म्याद थपिने आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताए ।

विस्तार भइरहेका सडकको प्रगति अवस्था
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक
चार खण्डमा विभाजन गरिएको यस सडकमा १२ वटा निर्माण कम्पनीले ०७२ देखि काम गरिरहेका छन् । पहिलो तीन खण्डको काम सम्पन्न हुनुपर्ने म्याद सकिसकेको छ । तर, अहिलेसम्मको प्रगति ३५ देखि ४० प्रतिशत मात्र छ । अन्तिम एक खण्डमा भने यही पुसमा काम सम्पन्न गर्ने म्याद सकिँदै छ । प्रगति ५० प्रतिशत छ । सडकको कुल लम्बाइ १२ दशमलव ४८० किलोमिटर हो ।

चाबहिल–जोरपाटी–बागमती–साँखु
चाबहिलदेखि साँखुसम्मको यस सडकलाई पाँच खण्डमा विभाजन गरी १२ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । चार खण्डमा ०७२ र एउटामा चालू आर्थिक वर्षदेखि काम थालिएको हो । अहिलेसम्म प्रत्येक खण्डमा न्यूनतम ५ र अधिकतम ४० प्रतिशत भौतिक प्रगति छ । साढे १२ किलोमिटर लम्बाइको यस सडकको केही खण्डको निर्माण अवधि सम्पन्न हुँदै छ भने केहीको ०७५ सम्ममा सम्पन्न गर्ने गरी दायित्व तोकिएको छ ।

लगनखेल–सातदोबाटो सडक
कुल ८ सय मिटरको यो सडक विस्तारको ठेक्का समानान्तर निर्माण सेवाले पाएको छ । ६ असोज ०७४ मा सम्पन्न गर्नुपर्ने गरी म्याद तोकिए पनि अहिलेसम्म २० प्रतिशत मात्र काम भएको छ ।

इमाडोल–गोदावरी खोला–लामाटार
सातवटा निर्माण कम्पनीले विस्तारको काम गरिरहेको यस सडकलाई तीन खण्डमा विभाजन गरिएको छ । आर्थिक वर्ष ०७३(७४ देखि विस्तारको काम थालिएको यस सडकको कुल लम्बाइ ११ दशमलव २१५ किलोमिटर छ । तीन खण्डमा ३० देखि ४० प्रतिशत मात्र अहिलेसम्म प्रगति भएको छ । २९ पुस ०७६ सम्ममा सबै खण्डको काम पूरा गर्ने योजना छ ।

ढोलाहिटी–सुनाकोठी–सरस्वतीकुण्ड
चार खण्डमा विभाजन गरी विस्तार भइरहेको यो सडकमा नौवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कुल १३ दशमलव १० किलोमिटर लामो यस सडकका तीन खण्डको भौतिक प्रगति शून्य छ । एक खण्डमा भने २० प्रतिशत काम भएको छ । ०७३ देखि विस्तार थालिएको यो सडकमा ०७६ भित्र सबै खण्ड विस्तार गरिसक्ने योजना छ । चार खण्डमध्ये दुई खण्डमा भने काम भइरहेको छ ।

कर्मनासा खोला–गोदावरी कुण्ड
दुई खण्डमा विभाजन गरिएको यो सडकमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । दुईमध्ये पहिलोमा ५ प्रतिशत भौतिक प्रगति भएको छ भने दोस्रो खण्डमा शून्य प्रगति छ । सडकको कुल लम्बाइ ७ दशमलव ६ सय मिटर लम्बाइ छ । यो सडक पनि ०७३ देखि विस्तार थालिएको हो ।

जोरपाटी–सुन्दरीजल सडक
कुल ७ किलोमिटरको यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । चारवटा निर्माण कम्पनीले कामको जिम्मा लिए पनि अहिलेसम्मको प्रगति शून्य छ । निर्माण कम्पनीले ०७३ देखि ठेक्काको जिम्मेवारी लिएका हुन् । सडक विस्तार ०७५ भित्र सम्पन्न गर्ने योजना छ ।

नख्खुखोला–भैँसेपाटी–बुङमती
५ दशमलव ०५ किलोमिटर लम्बाइको यो सडकमा ६ वटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । दुई खण्डमा विभाजन गरी काम गर्ने योजना भए पनि भौतिक प्रगति नगन्य छ । अहिलेसम्म एक खण्डको २० प्रतिशत मात्र काम भएको छ भने अर्को खण्डमा काम हुन सकेको छैन । ०७६ भित्र काम सम्पन्न गर्ने योजना छ ।

चक्रपथ–ज्ञानज्योति गणेश–विद्वत् मार्ग
डेढ वर्षअघि विस्तार थालिएको यो सडकको लम्बाइ एक किलोमिटर पनि छैन । कुल ७ सय ४२ मिटर लम्बाइको सडकमा अहिलेसम्मको भौतिक प्रगति ५५५ छ । ०७४ मंसिरमा ठेक्काको सम्पन्न गर्ने म्याद गुज्रिसकेको छ । तर, स्थानीयले काम गर्न नदिएका कारण प्रगति हुन सकेको छैन ।

पेप्सीकोला–सल्लाघारी
पेप्सीकोलानजिकै मनोहरा पुलदेखि बाहाखा बजार हुँदै निकोसेरा खस्याङखुसुङ पुलसम्मको सडक विस्तारको काम ०७४ असारदेखि सुरु भएको हो । यो सडक विस्तारमा तीनवटा निर्माण कम्पनी संलग्न छन् । अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

विशेषगरी बाहाखा बजारमा समस्या रहेको सडक विस्तार आयोजनाको भनाइ छ । ०७६ भित्र आयोजना सम्पन्न गर्ने योजना छ ।