

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनको नतिजाप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। रिपब्लिकन उम्मेदवारहरूको पक्षमा ठूलो रकम खर्च गरेका मस्कले चुनावी परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
ओपनसेक्रेट्सले सङ्घीय चुनावी अभियानसम्बन्धी विवरण विश्लेषण गरी सार्वजनिक गरेको तथ्याङ्कअनुसार मस्कले रिपब्लिकन उम्मेदवार तथा रूढिवादी राजनीतिक अभियानलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर खर्च गरेका थिए।
टेक्सासको सिनेट निर्वाचनमा मात्रै उनले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा २० करोड डलरभन्दा बढी खर्च गरेका थिए। तर उक्त निर्वाचनमा प्याक्सटन डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोसँग पराजित भए।
केही वर्षअघि मस्कले आफ्नो बसोबास र व्यावसायिक गतिविधिको केही हिस्सा टेक्सासमा सारेका थिए।
निर्वाचनमा विजयी भएपछि सम्बोधन गर्दै टालारिकोले अर्बपति दाताहरूलाई लक्षित गरेका थिए। उनले भनेका थिए, ‘हामीले यस राज्य र देशका हरेक अर्बपति दाता, खर्बपति दाता तथा भ्रष्ट राजनीतिक प्रणालीका समर्थकलाई एउटा सन्देश दिएका छौँ—शक्ति जनताको हातमा हुन्छ।’
निर्वाचन परिणाम सार्वजनिक भएपछि केही घण्टासम्म एक्समा मौन बसेका मस्कले अन्ततः व्यङ्ग्य गर्दै लेखे, ‘लाग्छ, चुनावमा हस्तक्षेप गर्ने मेरा अन्तरिक्ष लेजरले यसपटक काम गरेनन्।’