अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको पुनरागमन, सिनेटमा बहुमत

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको पुनरागमन, सिनेटमा बहुमत

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले सिनेटको नियन्त्रण आफ्नो हातमा लिएको छ। परम्परागत रूपमा रिपब्लिकनको बलियो प्रभाव रहेका राज्यमा समेत अप्रत्याशित जित निकाल्दै डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत पुनःस्थापित गरेको हो।

एसोसिएटेड प्रेस (एपी) का अनुसार डेमोक्र्याटिक पार्टीले यस निर्वाचनमा सिनेटका पाँच सिट थप जितेको छ। निर्वाचनअघि १०० सदस्यीय सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्र्याटिक पक्षका ४७ सदस्य थिए। डेमोक्र्याटिक पक्षमा दुई स्वतन्त्र सांसदले पनि समर्थन गर्दै आएका थिए। सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ।

डेमोक्र्याटिक पार्टीले आयोवा, कन्सास, टेक्सस, साउथ क्यारोलिना, ओहायो र नर्थ क्यारोलिनामा जित निकाल्दै रिपब्लिकनको पकड रहेका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको छ। यीमध्ये नर्थ क्यारोलिनामा खुला सिटमा जित निकाल्दा अन्य पाँच राज्यमा रिपब्लिकनको नियन्त्रणमा रहेका सिट खोसेको एपीले जनाएको छ।

नर्थ क्यारोलिनामा पूर्वगभर्नर रोय कुपरले रिपब्लिकन उम्मेदवार माइकल वाट्लीलाई पराजित गरे। टेक्ससमा जेम्स टालारिकोले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन प्राप्त रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई हराए। तीन दशकभन्दा बढी समयपछि टेक्ससमा राज्यस्तरको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार विजयी हुनु पार्टीका लागि महत्त्वपूर्ण उपलब्धि बनेको छ।

साउथ क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरिन्। ग्राहम आफ्ना दिवंगत दाजु सिनेटर लिन्डसे ग्राहमको स्थानमा नियुक्त भएकी थिइन्। ओहायोमा डेमोक्र्याटिक उम्मेदवार शेरोड ब्राउनले रिपब्लिकन जोन हस्टेडलाई हराउँदै सिनेट सिट जिते।

त्यस्तै, कन्सासमा एडम ह्यामिल्टनले रिपब्लिकन सिनेटर रोजर मार्सललाई तथा आयोवामा जोस टुरेकले रिपब्लिकन उम्मेदवार एश्ले हिन्सनलाई पराजित गरे।

जर्जियामा जोन ओसफले पुनःनिर्वाचन जित्दै आफ्नो सिट जोगाए। न्यु ह्याम्पसायरमा क्रिस पापासले पनि सिनेटको सिट जिते। यी नतिजाले डेमोक्र्याटिक पार्टीको सिनेटमा बहुमत सुनिश्चित गर्न सहयोग पुर्‍याएका छन्।

प्रतिनिधिसभामा भने अन्तिम नतिजा आउन बाँकी छ। ४३५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। एपीका अनुसार डेमोक्र्याटिक पार्टीले रिपब्लिकनको नियन्त्रणमा रहेका कम्तीमा सात सिटमा जित निकालिसकेको छ। बहुमतका लागि उसले थप तीन सिटको शुद्ध लाभ हासिल गर्नुपर्नेछ। मतगणना जारी रहेकाले प्रतिनिधिसभाको नियन्त्रण कुन दलले लिने भन्ने टुङ्गो लागिसकेको छैन।

गभर्नर पदका निर्वाचनमा पनि डेमोक्र्याटिक पार्टीले विभिन्न राज्यमा सफलता हासिल गरेको छ। टेक्ससमा जिना हिनोजोसाले रिपब्लिकन गभर्नर ग्रेग एबटलाई पराजित गरिन्। जर्जियामा किशा लान्स बटम्स र ओहायोमा एमी एक्टन निर्वाचित भए। आयोवामा डेमोक्र्याटिक उम्मेदवार रड स्यान्डले जित निकाले। फ्लोरिडामा भने रिपब्लिकन उम्मेदवार बायरन डोनाल्ड्स गभर्नर निर्वाचित भए।

निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू निर्वाचनमा उम्मेदवार नभएकाले यस्तो नतिजा आएको आशय व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘म मतपत्रमा उम्मेदवार थिइनँ। यदि म उम्मेदवार भएको भए हामीले भारी मतान्तरले जित्ने थियौँ।’