

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेसँगै फ्लोरिडाको २२औँ कंग्रेसनल डिस्ट्रिक्टबाट डेमोक्रेटिक उम्मेदवार भारतीय मूलकी पिया डान्डिया विजयी भएकी छन्। सीबीएस न्युजका अनुसार उनले दक्षिण फ्लोरिडाको चर्चित चुनावी प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवार केसी अस्करलाई पराजित गरेकी हुन्। निर्वाचनको प्रारम्भिक नतिजा विश्लेषण गर्दै सीबीएसले डान्डियाको जित घोषणा गरेको हो।
यो जित सन् २०२६ को मध्यावधि निर्वाचनअघि फ्लोरिडाका गभर्नर रोन डेसान्टिसको नेतृत्वमा गरिएको निर्वाचन क्षेत्र पुनर्सीमांकनपछि बनेको नयाँ निर्वाचन क्षेत्रमा डेमोक्रेटिक पार्टीको सफलताका रूपमा हेरिएको छ। डान्डिया यसअघि हार्लेममा शिक्षिका तथा उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापकका रूपमा कार्यरत थिइन्। उनले ह्वाइट हाउस फेलोका रूपमा समेत काम गरेकी छन् भने एप्पलमा पनि काम गरेको अनुभव छ।
भारतीय आप्रवासी आमाबुबाकी सन्तानका रूपमा फ्लोरिडाको पाम बिच काउन्टीमा जन्मिएकी र हुर्किएकी डान्डियाले चुनावी अभियानमा शिक्षा, महँगी नियन्त्रण र आर्थिक अवसरलाई प्रमुख मुद्दा बनाएकी थिइन्।
उनका प्रतिस्पर्धी केसी अस्कर नेपल्सका व्यवसायी तथा अमेरिकी मरीन कोर्प्सका पूर्वसैनिक हुन्। उनले रेस्टुरेन्ट फ्रेन्चाइज व्यवसायमार्फत आफ्नो व्यावसायिक करिअर बनाएका हुन्। चुनावी अभियानका क्रममा उनले आफूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारका नीतिहरूको समर्थकका रूपमा प्रस्तुत गरेका थिए।
डान्डियाले गत अगस्टमा भएको डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचन (प्राइमरी) जित्दै मुख्य निर्वाचनका लागि उम्मेदवारी निश्चित गरेकी थिइन्। नवनिर्वाचित डान्डियाले नयाँ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै सन् २०२७ जनवरीमा सुरु हुने अमेरिकी प्रतिनिधिसभाको कार्यकालमा जिम्मेवारी सम्हाल्नेछिन्।