

काभ्रे । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्। प्रधानमन्त्री शाह आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै बुधबार बिहान मन्दिर पुगेका हुन्।
मन्दिरमा नित्य पूजा भइरहेका बेला पुगेका उनीहरूले भगवतीको दर्शन गरेर फर्किएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्। प्रधानमन्त्री शाहको भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी नगराइएको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसँगै रहेका सुरक्षाकर्मी पनि सादा पोसाकमा थिए।
नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ्नुका साथै दर्शनार्थीको उल्लेख्य उपस्थिति रहने गरेको छ। नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यस ऐतिहासिक मन्दिरमा प्रत्येक वर्ष नवरात्रको महाअष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरमा प्रधानमन्त्री शाहले पनि पुगेर भगवतीको दर्शन गरेका हुन्।