

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण गर्न प्रस्ताव गरेका छन्।
भारतको नयाँदिल्लीमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले उक्त प्रस्ताव गरेका हुन्। यसका लागि संयुक्त कार्यदल गठन गर्नुपर्ने प्रस्तावसमेत उनले राखेको गृह मन्त्रालयले जनाएको छ।
बैठकमा गृहमन्त्री गुरुङले आतङ्कवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि बिम्स्टेक सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
उनले यस्ता अपराध नियन्त्रण गर्न सदस्य राष्ट्रबीच सुरक्षित रूपमा सूचना आदानप्रदान गर्ने, प्रभावकारी समन्वय कायम गर्ने तथा संयुक्त प्रतिकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।