नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई ‘कुष्मा’ भनिन्छ। शरणमा आएका भक्तजनका यी तीनै ताप हरिदिने भएकाले देवीको नाम कुष्माण्डा रहेको धार्मिक मान्यता छ। विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख छ।

श्री दुर्गासप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा।’ अर्थात्, त्रिविध तापयुक्त संसार जसको उदरमा छ, उनै भगवती कुष्माण्डाका रूपमा चिनिन्छिन्।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवी र तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नवरात्रका अवसरमा देवीको आराधना र पूजा गरेमा शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।

नौ दिनसम्म पूजा आराधना गरेपछि प्रसादस्वरूप टीका र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने शास्त्रीय विधान छ। यी नौ देवीका स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न जाने भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणीका मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ।