

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहसँग भेटवार्ता गरेका हुन्। भारतस्थित नेपाली दूतावासले भेटवार्ताबारे जानकारी दिएको हो।
भेटका क्रममा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण र सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको बताइएको छ। त्यस्तै, अन्तरदेशीय अपराधविरुद्धको सहकार्य तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै मन्त्रीबीच कुराकानी भएको थियो।
दुवै देशका जनताको पारस्परिक हितका लागि सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा व्यावहारिक सहयोगलाई अघि बढाउनुपर्नेमा गृहमन्त्री गुरुङले जोड दिएका थिए।
यसैगरी, नेपालमा हालै आएको बाढी र पहिरोपछि भारत सरकारले समयमै सहयोग गरेकोमा गृहमन्त्री गुरुङले भारत सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।