भुइँमान्छेका कथा र नारीवादी मनोविज्ञान समेटिएको ‘बैसाखी’ लोकार्पण

भुइँमान्छेका कथा र नारीवादी मनोविज्ञान समेटिएको ‘बैसाखी’ लोकार्पण

काठमाडौं । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो साहित्यिक कृति ‘बैसाखी’ लोकार्पण गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी र कृतिका सम्पादक एवं समालोचक सुभाषचन्द्र भण्डारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राध्यापक डा. अवस्थीले लेखक जोशीमा सशक्त सिर्जनात्मक प्रतिभा रहेको बताए। पत्रकारिताको अनुभवले लेखकको लेखनलाई थप प्रभावकारी बनाउने उल्लेख गर्दै उनले जोशीको लेखनमा इच्छाशक्ति, लोकपरिवेशको सूक्ष्म चित्रण र आलंकारिक विशेषता रहेको बताए।

‘पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ। जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ,’ उनले भने।

कृतिमाथि परिचर्चा गर्दै साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले ‘बैसाखी’ मा समाजका भुइँमान्छेको इतिहास र जीवनका कथा समेटिएको बताइन्। उनले लेखकले नारीवादी मनोविज्ञानलाई समेत सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरिन्।

कृतिका सम्पादक सुभाषचन्द्र भण्डारीले जोशीको लेखनमा आधुनिक कथाशिल्प र नयाँ पुस्ताको मनोभाव गहिरोसँग अभिव्यक्त भएको बताए। बाल्यकालदेखि गाउँपरिवेशसम्मका विविध विषयलाई लेखकले सूक्ष्म रूपमा कथामा उतारेको उनको भनाइ थियो।

‘जोशीको लेखनीमा आधुनिक कथाशिल्प छ। पछिल्लो पुस्ताको मनोभाव गहिरोगरी आएको छ। बाल्यकालदेखि गाउँपरिवेशका सबै कथा उहाँले मिहिन रूपमा लेख्न सफल हुनुभएको छ,’ भण्डारीले भने।

उनका अनुसार कृतिका केही कथामा वास्तविक पात्रको अनुमतिसमेत लिएर कथा निर्माण गरिएको छ, जसले लेखनमा नयाँ प्रयोगको सम्भावना देखाएको छ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिमको भूमिबाट दुःख र संघर्ष गर्दै अगाडि बढेका लेखकले समाजका सीमान्तकृत मानिसका कथा लेख्नु प्रशंसनीय रहेको बताए। भुइँमान्छेकै जीवन भोगाइबाट आएका लेखकले भुइँमान्छेकै कथा लेखेकोमा उनले खुसी व्यक्त गरे।

प्राध्यापक माधव नेपालले ‘बैसाखी’ लेखनका क्रममा आफूले लेखक जोशीलाई विभिन्न सुझाव दिएको स्मरण गर्दै ती सुझावलाई आत्मसात् गरेर पुस्तकाकार रूपमा कृति सार्वजनिक गर्न सफल भएकोमा खुसी व्यक्त गरे।

कृतिकार जोशीले आफ्नो साहित्यिक यात्राको प्रेरणास्रोत आमाको देउडाप्रतिको लगाव रहेको बताए। परदेशिएका बुबालाई आमाले चिठी लेख्दा देउडा गीतसमेत लेखेर पठाउने गरेको देखेपछि आफू साहित्यप्रति आकर्षित भएको उनले सुनाए।

‘त्यही प्रेरणाले आज यो पुस्तक ल्याउन सम्भव भएको हो,’ जोशीले भने।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ऊर्जाशील युवा लेखक जोशीको पहिलो कृति प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए।