अरविन्द केजरीवाल र ममता बनर्जी दिल्ली प्रहरीको नियन्त्रणमा

अरविन्द केजरीवाल र ममता बनर्जी दिल्ली प्रहरीको नियन्त्रणमा

काठमाडौँ । दिल्ली प्रहरीले आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल र पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) की प्रमुख ममता बनर्जीलाई नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा परेपछि केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि तानाशाहीको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्नुभएको छ।

भिडियो सन्देशमार्फत केजरीवालले भारतका युवा जागिसकेको र कथित मत चोरी सहन नसक्ने बताउनुभएको थियो। राज्यसभा सांसद सञ्जय सिंहसहित जन्तर मन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो।

आप नेता सौरभ भारद्वाजले प्रहरीले केजरीवालमाथि दुर्व्यवहार गर्नुका साथै धकेलाधकेल गरेको आरोप लगाउनुभएको छ। यसैबीच, टीएमसी प्रमुख बनर्जीलाई पनि दिल्लीको साउथ एभिन्युस्थित बस बिसौनीमा धर्ना दिइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा लिनुअघि बनर्जीले आफूहरूलाई जन्तर मन्तर जान नदिइएको भन्दै वर्तमान अवस्थालाई सन् १९७५ को आपत्कालीन अवस्थाभन्दा पनि खराब भएको टिप्पणी गर्नुभएको थियो।

टीएमसीका प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जालमार्फत ममता बनर्जीसहित पाँच जनालाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले निवासबाहिरबाट नियन्त्रणमा लिएर अज्ञात स्थानमा लगेको दाबी गर्नुभएको छ। उहाँले उक्त घटनालाई भारतमा लोकतन्त्रको हत्या भएको टिप्पणीसमेत गर्नुभएको छ।