

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिबाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि सुरु गरिने भएको छ। सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् भने अन्य पदाधिकारीको मतपरिणाम आउन बाँकी छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतगणना सुरु गर्नुअघि पदाधिकारीका उम्मेदवारसँग छलफल गरिनेछ। त्यसका लागि उपसभापति र महामन्त्रीका उम्मेदवारलाई आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।
उम्मेदवारसँगको छलफलपछि मात्रै मतगणना सुरु गरिने कटुवालले जानकारी दिएका छन्। सभापतिबाहेकका पदाधिकारीका मतपेटिका राष्ट्रिय सभा गृहबाट पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ।
शुक्रबार भएको निर्वाचनको मतगणना राति अबेरदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको थियो। सभापति पदमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा ५४ मत बदर भएको थियो।
कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए। अब उपसभापति, महामन्त्री तथा अन्य पदाधिकारीको मतगणनापछि नयाँ नेतृत्वको बाँकी नतिजा सार्वजनिक हुनेछ।