कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुरक्षाको कामबाहेक घरायसी तथा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा जानकारी दिन तथा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराउने व्यवस्था छ। तर, पछिल्लो समय कार्यविधिमा उल्लिखित प्रावधानविपरीत सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कार्यविधिविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई असोज २२ गते नै निर्देशन दिइसकिएको छ।

कार्यविधि तथा मन्त्रालयको निर्देशनविपरीत सुरक्षाकर्मी खटाएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

त्यस्तै, सुरक्षाको कामबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा सम्बन्धित सुरक्षाकर्मी तथा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा सम्पर्क गरी जानकारी दिन वा उजुरी गर्न सक्नेछन्। मन्त्रालयले जानकारी तथा उजुरी दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाएको छ।