

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि आफू पुनः सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्। शुक्रबार नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले लोकतन्त्र र संविधानमाथि खतरा देखिएकाले पार्टी राजनीतिमा फर्किएको बताएकी हुन्।
एमाले सचिव पद्मा अर्यालका अनुसार बैठक समापन हुनुअघि बोलेकी वरिष्ठ नेता भण्डारीले ११ वर्षपछि पार्टी जीवनमा फर्किएको उल्लेख गर्दै लोकतन्त्र ल्याउने राजनीतिक दलहरूले नै यसको रक्षा गर्नुपर्ने धारणा राखेकी थिइन्।
अर्यालले भण्डारीको भनाइ उद्धृत गर्दै भनिन्, “आज मुलुकमा लोकतन्त्र र संविधानप्रति जुन खतरा देखिएको छ, यसको रक्षा गर्ने भनेको लोकतन्त्र ल्याउने राजनीतिक दलहरूले नै हो।”
लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा आफू पनि सहभागी भएकाले लोकतन्त्रप्रति आफ्नो गहिरो माया र विश्वास रहेको भण्डारीको भनाइ थियो। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन योगदान पुर्याउने उद्देश्यले राजनीतिमा फर्किएको उनले बताएकी थिइन्।
“म पनि त्यो आन्दोलनमा सरिक भएँ। त्यसप्रति मेरो माया र विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्न सक्छु भन्ने मनसायका साथ पार्टी जीवनमा फर्किएको हुँ,” अर्यालले भण्डारीको भनाइ उद्धृत गर्दै बताइन्।
यसैबीच, एमाले स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीमा रिक्त रहेका पद, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी कमिटीमा रिक्त स्थान पूर्ति गर्ने विषयमा सदस्यहरूले आ–आफ्ना सुझाव राखेका थिए।