नोबेल शान्ति पुरस्कार नाभी पिल्लेलाई, ट्रम्पको चाहना फेरि अधुरै

नोबेल शान्ति पुरस्कार नाभी पिल्लेलाई, ट्रम्पको चाहना फेरि अधुरै

काठमाडौं । दक्षिण अफ्रिकाकी पूर्व न्यायविद् नाभनेथेम ‘नाभी’ पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। शुक्रबार नर्वेको राजधानी ओस्लोमा पुरस्कार घोषणा गर्दै नोबेल समितिले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्न व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याउन पिल्लेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।

समितिका अनुसार पिल्लेले शान्ति प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनमा उल्लेखनीय योगदान दिएकी छन्। गम्भीर अन्तर्राष्ट्रिय अपराधमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही सुनिश्चित गर्न उनले गरेको प्रयासलाई पुरस्कार प्रदान गर्नुको प्रमुख आधार बनाइएको छ।

२८७ उम्मेदवार प्रतिस्पर्धामा

नोबेल समितिका अनुसार यस वर्षको शान्ति पुरस्कारका लागि २८७ उम्मेदवार मनोनयनमा परेका थिए। तीमध्ये २०८ जना व्यक्ति र ७९ संस्था थिए। पुरस्कारका सम्भावित दाबेदारका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र, सुडानका आपत्कालीन उद्धार टोली, युक्रेनमा बालबालिकाको अधिकारका लागि काम गर्ने अभियन्ता तथा दुई प्रमुख अन्तर्राष्ट्रिय अदालतको नामसमेत चर्चामा थियो।

ट्रम्पको नोबेल पुरस्कार पाउने चाहना अधुरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका छन्। उनले आफू उक्त पुरस्कारका लागि योग्य रहेको दाबीसमेत गर्दै आएका थिए।

इरानसँग जारी युद्धका बीच ट्रम्पको पुरस्कारप्रतिको चाहना र सम्भावित उम्मेदवारीले यस वर्षको पुरस्कारलाई थप अन्तर्राष्ट्रिय चासोको विषय बनाएको थियो। तर, यस वर्षको पुरस्कार पिल्लेलाई प्रदान गर्ने निर्णय भएको छ।