प्रसूति सेवामा आर्थिक अभाव, दुर्व्यवहार र महिलाको अधिकार उल्लंघनको भयावह चित्र

प्रसूति सेवामा आर्थिक अभाव, दुर्व्यवहार र महिलाको अधिकार उल्लंघनको भयावह चित्र

-प्रकाश थापा-

काठमाडौं । प्रसव पीडाले शरीर थिचिरहेको थियो। अस्पतालमा रगत परीक्षण गराउन भनिएको थियो, तर आवश्यक पैसा थिएन। कहाँबाट पैसा जुटाउने भन्ने अन्योलबीच प्रसव पीडा झन् बढ्दै गयो। अस्पतालबाट निस्किएर पैसा खोज्न भौँतारिएकी ३० वर्षीया बबिताकुमारी पासवानले अन्ततः सडकपेटीमै बच्चा जन्माइन्। बच्चा जन्मिएपछि उनलाई अस्पताल लगियो। तर त्यहाँ पनि उनले सहजता, सहानुभूति र आवश्यक हेरचाह पाएको अनुभूति गरिनन्। बरु शारीरिक पीडाबीचकाे दबाब र अस्पतालबाट निस्कन भनिएको उनको भनाइ छ।

राजविराज नगरपालिका-१४, पर्साहीकी बबिताकुमारीको यो अनुभव केवल एउटा महिलाको प्रसव पीडा र आर्थिक अभावको कथा होइन। यसले स्वास्थ्य सेवामा पहुँच, सम्मानजनक मातृत्व, स्वास्थ्यकर्मीको व्यवहार र महिलाको प्रजनन अधिकारसम्बन्धी गम्भीर प्रश्न उठाएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि आवश्यक रकम जुटाउन नसकेपछि सडकपेटीमै शिशु जन्माउन बाध्य भएको उनको अनुभवले महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गरेको गर्भावस्था, प्रसव र प्रसवोत्तर अवस्थाका महिलामाथि हुने दुर्व्यवहार, हिंसा तथा अधिकार उल्लंघनसम्बन्धी तथ्य-अन्वेषण अध्ययनका निष्कर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्छ।

एफडब्लुएलडीको अध्ययनले नेपालका सातै प्रदेशका १४ जिल्ला र २८ स्थानीय तहका १ हजार ६ सय ८० महिलाको अनुभव समेटेको छ। अध्ययनमा ५६० गर्भवती, ५६० प्रसवमा रहेका र ५६० सुत्केरी महिला सहभागी थिए। अध्ययनअनुसार गर्भवती महिलामध्ये ३८.४ प्रतिशत, प्रसवमा रहेका ३७.९ प्रतिशत र सुत्केरी महिलामध्ये ३५.९ प्रतिशतले कुनै न कुनै प्रकारको हिंसा भोगेका छन्।

बबिताको अनुभव र अध्ययनका यी तथ्यलाई सँगै राखेर हेर्दा प्रश्न केवल प्रसवका बेला बच्चा सुरक्षित जन्मियो कि जन्मिएन भन्नेमा सीमित रहँदैन। महिलाले उपचार पाउन कति संघर्ष गर्नुपर्‍यो, उनको पीडालाई कति गम्भीरतापूर्वक लिइयो र उनको आत्मसम्मान तथा अधिकारको कति रक्षा भयो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

 

३२ सय रुपैयाँ कहाँबाट ल्याउने ?

बबिताका अनुसार उनी प्रसूति सेवाका लागि पहिले नै अस्पताल पुगेकी थिइन्। त्यहाँ आफूले अहिलेसम्म नियमित जाँच गराउन नसकेको र अस्पतालमै जाँच गराउन आएको बताउँदा पनि उनलाई रिपोर्ट देखाउन भनिएको थियो।

उनले आफूलाई सामान्य प्रसूति हुने अपेक्षा रहेको र आवश्यक जाँच अस्पतालमै गराउन चाहेको बताएकी थिइन्। तर, उनको भनाइअनुसार थप जाँच गर्नुपर्ने बताइयो। त्यसक्रममा आफूलाई गाली गरिएको र विभिन्न प्रक्रिया पूरा गर्न लगाइएको उनले सुनाएकी छन्।

बबिताको भनाइमा, अस्पतालबाट बाहिरिने क्रममा उनलाई करिब ३ हजार २ सय रुपैयाँ लाग्ने जानकारी दिइयो। तर उनीसँग त्यति पैसा थिएन।

‘त्यति पैसा कहाँबाट ल्याउने ? के गर्ने ?’ भन्ने अन्योलमा उनी र उनका आफन्त पैसा जुटाउनतिर लागे। नजिकैको पसल खोल्ने व्यक्तिबाट पैसा लिन सकिन्छ कि भनेर प्रयास गरे। चिनजानका चिकित्सककहाँ गएर जाँच गराउने सोच पनि बनाए। तर क्लिनिक बन्द थियो।

अस्पतालमा आवश्यक रकम तिर्न सक्ने अवस्था नभएपछि उनीहरू पैसा जुटाउने प्रयास गर्दै त्यहीँ बसे। कसैबाट रकम आएपछि पुनः अस्पताल जाने उनीहरूको सोच थियो। तर, समय बित्दै जाँदा बबिताको प्रसव पीडा बढ्दै गयो। अस्पताल पुगेर उपचार गराउने प्रतीक्षामा रहेकी उनी अन्ततः सडकपेटीमै बच्चा जन्माउन बाध्य भइन्। बच्चा जन्मिएपछि मात्र बबितालाई अस्पतालभित्र लगियो।

यो घटनाले स्वास्थ्य सेवामा आर्थिक अभावले पार्न सक्ने प्रभावलाई गम्भीर रूपमा देखाउँछ। प्रसवको संवेदनशील अवस्थामा आवश्यक रकम तत्काल जुटाउन नसक्दा महिलाले उपचारको निरन्तरतामा अवरोध भोग्नुपर्नु स्वास्थ्य सेवाको पहुँच र व्यवस्थापनबारे गम्भीर समीक्षा गर्नुपर्ने विषय हो।

एफडब्लुएलडीको अध्ययनले पनि आर्थिक अभावका कारण महिलाले आवश्यक स्वास्थ्य सेवा पाउन नसकेको वा ढिलो पाएको तथ्य उजागर गरेको छ। अध्ययनमा ५.५ प्रतिशत गर्भवती महिलाले आवश्यक पैसा तिर्न नसकेका कारण सेवा नपाएको वा ढिलो सेवा पाएको बताएका छन्। मधेस प्रदेशका ग्रामीण महिलामा यस्तो अनुभव २२.५ प्रतिशतसम्म देखिएको छ।

बबिताको घटना र अध्ययनको तथ्य एउटै प्रश्नमा जोडिन्छन्, आर्थिक कठिनाइमा परेका महिलाले प्रसूति सेवाका लागि भौँतारिनुपर्ने अवस्था किन आउँछ ? उनको अनुभवले आर्थिक अवरोधले मातृत्व सेवामा पार्न सक्ने गम्भीर असरलाई स्पष्ट पार्छ।

बच्चा जन्मिएपछि पनि सकिएन अपमानको अनुभव

बच्चा जन्माएपछि महिलालाई आराम, स्वास्थ्य परीक्षण, सरसफाइ, पीडा व्यवस्थापन र भावनात्मक सहयोग आवश्यक हुन्छ। तर बबिताको भनाइअनुसार अस्पताल पुगेपछि पनि उनले सहज वातावरण पाइनन्।

अस्पतालमा बेडमा सुत्न भनिएपछि उनले आफ्नो टाउको र पेट दुखिरहेको तथा तत्काल आफैँ सफा गर्न नसक्ने बताएकी थिइन्। तर, उनको भनाइमा आफूले सफा गर्न नसक्ने भए अस्पतालबाट निस्कन भनियो।

उनले आफूलाई सम्हालेर अस्पतालमै बस्ने प्रयास गरेको बताएकी छन्। पछि अर्की कर्मचारीले पनि हातले सफा गर्न दबाब दिएको उनको भनाइ छ।

‘दिदी, त्यति जोडले नगर्नुहोस्। म अहिले गर्न सक्दिनँ। तपाईंले जे गर्नुपर्ने हो, त्यही गरिदिनुहोस्,’ आफूले आग्रह गरेको बबिताले बताएकी छन्।

त्यसपछि आफूले सफा नगर्ने र त्यसका लागि पैसा पनि नलिने कुरा बताएको उनको भनाइ छ। अन्ततः उनलाई अस्पतालबाट निस्कन भनियो।

‘छिटो निस्कनुहोस्, यहाँबाट बाहिर जानुहोस्’ भन्दै आफूलाई बाहिर जान भनिएको बबिताले सुनाएकी छन्।

उनका अनुसार त्यसपछि उनी करिब डेढ घण्टासम्म अस्पतालबाहिर उभिएर बसिन्। केही समय बस्न दिन र आफ्नो केही काम बाँकी रहेको भन्दै उनले कर्मचारीलाई अनुरोध गरिरहिन्। बच्चा जन्माएको केही समयमै शारीरिक पीडामा रहेकी महिलाले अस्पतालमै आराम र आवश्यक हेरचाहका लागि आग्रह गर्नुपर्ने अवस्था आफैँमा गम्भीर प्रश्न हो।

तथ्यांकमा पनि देखिन्छ प्रसवपछिको बेवास्ता

बबिताले बच्चा जन्माएपछि भोगेको भनिएको अनुभव एफडब्लुएलडीको अध्ययनले उजागर गरेका प्रसवोत्तर हेरचाहसम्बन्धी कमजोरीसँग विषयगत रूपमा मेल खान्छ। अध्ययनमा १२.९ प्रतिशत सुत्केरी महिलाले बच्चा जन्मिएपछि आफ्नो स्वास्थ्य र आरामको ख्याल नगरिएको बताएका छन्। त्यस्तै ९.३ प्रतिशतले बच्चा खुवाउन, सफा गर्न वा आफ्नो दुखाइ कम गर्न सहयोग नपाएको तथा १९.१ प्रतिशतले भावनात्मक सहयोग वा परामर्श नपाएको बताएका छन्।

अर्कोतर्फ, ९.१ प्रतिशत सुत्केरी महिलाले पर्याप्त पोषणयुक्त खाना नपाएको र २४.३ प्रतिशतले पर्याप्त आराम गर्न नपाएको बताएका छन्। यी तथ्यले प्रसवपछि आवश्यक हेरचाहको कमी केवल व्यक्तिगत गुनासोको विषय नभई अध्ययनमा सहभागी महिलाले समेत उल्लेख गरेको समस्या भएको देखाउँछन्।

सुत्केरी महिलालाई पर्याप्त आराम, सरसफाइ र पीडा व्यवस्थापन उपलब्ध गराउनु उनको सुविधाका लागि मात्र होइन, सम्मानजनक मातृत्व सेवाको महत्वपूर्ण पक्ष हो। यस्तो अवस्थामा महिलाको शारीरिक अवस्थालाई बेवास्ता गर्दै सेवा प्राप्त गर्न कठिन बनाउने व्यवहार भए त्यसको समीक्षा र आवश्यक सुधार अपरिहार्य हुन्छ।

के हाे प्रसूति हिंसा ?

प्रसूति हिंसा भन्नाले शारीरिक आक्रमण वा कुटपिटलाई मात्र बुझिँदैन। अपमानजनक बोली, गालीगलौज, धम्की, मानसिक दबाब, आवश्यक जानकारी नदिनु, सुसूचित सहमति नलिनु, गोपनीयता कायम नगर्नु, महिलाको कुरा नसुन्नु, निर्णयमा सहभागी नगराउनु र आवश्यक हेरचाहबाट वञ्चित गर्नु पनि यसका विभिन्न स्वरूप हुन्।

एफडब्लुएलडीकी स्थलगत अनुसन्धान सहयोगी कृति गौतमकाअनुसार अध्ययनले भावनात्मक, शारीरिक र यौन हिंसाका साथै स्वास्थ्य सेवामा हुने बेवास्ता तथा अधिकार उल्लंघनका विभिन्न पक्षलाई समेटेको छ।

अध्ययनअनुसार गर्भावस्थामा ३०.७ प्रतिशत महिलाले भावनात्मक हिंसा, ४.५ प्रतिशतले शारीरिक हिंसा र १६.१ प्रतिशतले यौन हिंसा भोगेको बताएका छन्।

प्रसवमा रहेका महिलामध्ये ३२.७ प्रतिशतले भावनात्मक हिंसा, ३.२ प्रतिशतले शारीरिक हिंसा र ९.५ प्रतिशतले यौन हिंसा भोगेको बताएका छन्। सुत्केरी महिलामध्ये ३० प्रतिशतले भावनात्मक हिंसा, ४.५ प्रतिशतले शारीरिक हिंसा र १६.४ प्रतिशतले यौन हिंसा भोगेको अध्ययनमा उल्लेख छ।

यसले प्रसूति हिंसालाई बच्चा जन्माउने क्षणमा मात्र सीमित गरेर बुझ्न नमिल्ने देखाउँछ। गर्भावस्थामा सुरु हुने दुर्व्यवहार प्रसव र सुत्केरी अवस्थासम्म पनि जारी रहन सक्छ।

अनुसन्धानकर्ता अधिवक्ता बिनु लामाकाअनुसार अध्ययनले महिलाले गर्भावस्था, प्रसव र सुत्केरीपछिका तीनै चरणमा भोग्ने हिंसा तथा अधिकार उल्लंघनको अवस्था पहिचान गर्न खोजेको हो। एफडब्लुएलडीले महिला अधिकार, लैङ्गिक हिंसाको अन्त्य र प्रजनन स्वास्थ्य अधिकारको संरक्षणका लागि निरन्तर काम गर्दै आएको उनले बताएकी छन्।

उपचारमा महिलाको सहमति र निर्णयको अधिकार

स्वास्थ्य संस्थामा उपचार पाउनु महत्वपूर्ण हो, तर उपचारका क्रममा महिलालाई के भइरहेको छ भन्ने जानकारी दिनु र उनको सुसूचित सहमति लिनु पनि उत्तिकै आवश्यक हुन्छ।एफडब्लुएलडीको अध्ययनमा १४.६ प्रतिशत गर्भवती, १४.३ प्रतिशत प्रसवमा रहेका र १३.९ प्रतिशत सुत्केरी महिलाले सेवा प्रदायकबाट कुनै जानकारी नपाएको बताएका छन्।

त्यस्तै, १५.२ प्रतिशत गर्भवती र १३.८ प्रतिशत सुत्केरी महिलाको सुसूचित सहमति नलिई शारीरिक जाँच गरिएको पाइएको छ। ग्रामीण क्षेत्रमा यस्तो अनुभव अझ बढी देखिएको छ। ग्रामीण क्षेत्रका १६.९ प्रतिशत गर्भवती महिलाले सहमति नलिई जाँच गरिएको बताएका छन् भने सहरी क्षेत्रमा यस्तो अनुभव गर्ने १३.७ प्रतिशत छन्।

प्रसवका क्रममा ४१.१ प्रतिशत महिलालाई बच्चा जन्माउने विधिका रूपमा सामान्य प्रसूति वा शल्यक्रियाबारे विकल्प नदिई सेवा दिइएको अध्ययनमा उल्लेख छ। झन्डै १९.५ प्रतिशत प्रसवमा रहेका महिलाले प्रश्न सोध्ने वातावरणसमेत नपाएको बताएका छन्।

यी तथ्यले स्वास्थ्य सेवामा महिलाको सहभागिता र निर्णयको अधिकार कमजोर रहेको देखाउँछन्। उपचारको निर्णयमा महिलालाई जानकारी दिनु, उनको अवस्था बुझ्नु र सम्भव भएसम्म निर्णय प्रक्रियामा सहभागी गराउनु सम्मानजनक सेवाको आधार हो।

बबिताको घटनामा पनि उनले सुनाएको अनुभवअनुसार आवश्यक रकम जुटाउन नसक्दा उपचार प्रक्रिया अघि बढाउन कठिनाइ भएको थियो। उनको अवस्थाको मूल्यांकनले आर्थिक अवरोधबीच प्रसूति सेवाको निरन्तरता कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न उठाएको छ।

गोपनीयता र मर्यादा पनि सेवाकै हिस्सा

अध्ययनमा गर्भवतीमध्ये २१.१ प्रतिशत, प्रसवमा रहेका २५.२ प्रतिशत र सुत्केरीमध्ये २७ प्रतिशतले सेवा प्रदायकले गोपनीयता कायम नगरेको बताएका छन्। गण्डकी प्रदेशमा यो समस्या अझ गम्भीर देखिएको छ। त्यहाँ गर्भवती महिलामध्ये ३८.८ प्रतिशत, प्रसवमा रहेका ५२.५ प्रतिशत र सुत्केरी महिलामध्ये ५६.३ प्रतिशतले गोपनीयता कायम नगरिएको अनुभव गरेका छन्।

महिलाले स्वास्थ्य संस्थामा ठूलो स्वरमा बोल्ने, गाली गर्ने, कुरा नसुन्ने, ढिलो सेवा दिने, समयमा उपस्थित नहुने र आवश्यक जानकारी नदिने व्यवहारको गुनासोसमेत गरेका छन्।

स्वास्थ्य संस्थामा बिरामीको शारीरिक अवस्था र आवश्यकतालाई बुझेर व्यवहार गर्नु उपचार प्रक्रियाको अभिन्न हिस्सा हो। विशेषतः प्रसवपछि महिलाले पीडा, थकान र शारीरिक कमजोरी अनुभव गरिरहेका हुन सक्छन्। यस्तो अवस्थामा उनको कुरा सुन्नु, आवश्यक सहयोग गर्नु र सम्मानजनक व्यवहार गर्नु स्वास्थ्य सेवाको न्यूनतम अपेक्षा हो।

महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक एवम् प्रमुख अनुसन्धानकर्ता अधिवक्ता सविन श्रेष्ठकाअनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी संवैधानिक र कानुनी प्रावधान व्यवहारमा कति प्रभावकारी रूपमा लागू भएका छन् भन्ने वास्तविकता अध्ययनले उजागर गरेको छ।

परिवार, समाज र आर्थिक असमानताको प्रभाव

प्रसूति हिंसामा स्वास्थ्य संस्थाभित्रको व्यवहार मात्र जिम्मेवार छैन। अध्ययनले परिवार, नातेदार र सामाजिक संरचनाभित्र पनि महिलाले हिंसा भोगिरहेको देखाएको छ। गर्भवती महिलामाथि हिंसा गर्ने प्रमुख व्यक्तिमा परिवारका सदस्य तथा नातेदार ६० प्रतिशत, श्रीमान् ५२.१ प्रतिशत, छिमेकी ३२.१ प्रतिशत र सेवा प्रदायक २६ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ।

जातीयता, धर्म, शिक्षा, आर्थिक अवस्था, रोजगारी र बसोबासको स्थानसँग पनि हिंसाको अनुभव जोडिएको पाइएको छ। निरक्षर तथा प्राथमिक शिक्षा हासिल गरेका महिलाले उच्च शिक्षा हासिल गरेका महिलाको तुलनामा बढी हिंसा भोगेको अध्ययनले देखाएको छ। कृषि तथा दैनिक ज्यालादारीमा संलग्न गर्भवती र प्रसवमा रहेका महिलामध्ये ४५.५ प्रतिशतले हिंसा भोगेका छन्।

यसले महिलाको स्वास्थ्य र मातृत्वको अनुभवलाई आर्थिक तथा सामाजिक अवस्थाबाट अलग गरेर हेर्न नसकिने स्पष्ट पार्छ।

बबिताको घटनामा आर्थिक अभावले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। उनको अनुभवलाई आर्थिक रूपमा कमजोर महिलाले आवश्यक प्रसूति सेवा प्राप्त गर्दा सामना गर्न सक्ने कठिनाइ र त्यसलाई सम्बोधन गर्ने प्रणालीको आवश्यकतामाथि ध्यानाकर्षण गराएकाे एफडब्लुएलडीका सूचना अधिकारी अधिवक्ता विनाेदचन्द्र देवकाेटा बताउँछन् ।

कानुनमा अधिकार, व्यवहारमा सुनिश्चितता कहिले ?

नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको संरक्षणका लागि संवैधानिक तथा कानुनी व्यवस्था छन्। तर कानुनमा अधिकार लेखिनु र व्यवहारमा त्यसको प्रत्याभूति हुनु फरक कुरा हुन्।

एफडब्लुएलडीको अध्ययनले महिलाले हिंसा, दुर्व्यवहार, जानकारीको अभाव, सहमति नलिई गरिने जाँच, गोपनीयताको उल्लंघन र प्रसवपछिको अपर्याप्त हेरचाहजस्ता समस्या भोगिरहेको देखाएको छ।

एफडब्लुएलडीकी अध्यक्ष वरिष्ठ अधिवक्ता गीतादेवी अर्यालकाअनुसार अध्ययन सम्मानजनक प्रसूति सेवासम्बन्धी तथा प्रसूति हिंसाविरुद्ध कानुन निर्माणका लागि प्रमाण जुटाउने महत्वपूर्ण दस्तावेज बन्न सक्छ।

उनले अध्ययन प्रतिवेदनले नीति निर्माता, कानुन कार्यान्वयनकर्ता, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी तथा नागरिक समाजलाई सम्मानजनक प्रसूति सेवाको कार्यान्वयन र प्रसूति हिंसाको कानुनी उत्तरदायित्वका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेकी छन्। अध्ययनका सुझावलाई आत्मसात गर्दै राज्यले प्रभावकारी नियमन, नीतिगत तथा कानुनी पुनरावलोकन र कानुनी उपचारको व्यवस्था गर्नुपर्ने उनको अपेक्षा छ।

बबिताको अनुभवले पनि सेवा प्राप्त गर्न आर्थिक रूपमा सक्षम हुनु मात्र पर्याप्त नहुने, स्वास्थ्य संस्थामा पुगेपछि सम्मानजनक व्यवहार र आवश्यक हेरचाहको प्रत्याभूति पनि महत्वपूर्ण हुने प्रष्ट देखाउँछ।

सडकपेटीमा जन्मिएको प्रश्न

बबिताकुमारी पासवानले सडकपेटीमा बच्चा जन्माउनुपरेको अनुभवले स्वास्थ्य सेवामा पहुँच र सम्मानजनक मातृत्वबीचको सम्बन्धलाई फेरि बहसमा ल्याएको छ। अस्पताल पुग्नु, जाँच गराउनु र उपचार पाउनु मात्र पर्याप्त हुँदैन; महिलाको अवस्था बुझ्ने, आर्थिक कठिनाइमा आवश्यक सहयोग वा उपलब्ध विकल्पबारे जानकारी दिने र प्रसवपछि सुरक्षित हेरचाह सुनिश्चित गर्ने व्यवस्था पनि उत्तिकै आवश्यक हुन्छ।

एफडब्लुएलडीको अध्ययनले देखाएका तथ्यले यो समस्या एकल घटनामा सीमित नरहेको स्पष्ट देखाएकाे छ । गर्भावस्थादेखि प्रसव र सुत्केरीपछिसम्म महिलाले भोग्ने हिंसा तथा अधिकार उल्लंघनका अनुभवलाई सम्बोधन गर्न स्वास्थ्य संस्थाको व्यवहार सुधार, सेवाको प्रभावकारी नियमन, अधिकारसम्बन्धी जानकारी, गुनासो सुनुवाइ र आवश्यक कानुनी उपचारको व्यवस्था महत्वपूर्ण हुन्छ।

बबिताको घटना अनुभवले उठाएको मूल प्रश्न स्पष्ट छ, सन्तान जन्माउने संवेदनशील अवस्थामा महिलाले पैसा, जानकारी र सहयोगको अभावमा उपचारका लागि संघर्ष गर्नुपर्ने हो, कि सम्मान र सुरक्षासहितको सेवा पाउनुपर्ने हो ?

सडकपेटीमा बच्चा जन्माएकी बबिताको अनुभव र अध्ययनमा देखिएका तथ्यले एउटै सन्देश दिन्छन्, सम्मानजनक मातृत्व सेवा सुविधा होइन, महिलाको अधिकार हो। त्यो अधिकार प्रसूति कक्षमा मात्र होइन, स्वास्थ्य संस्थाको ढोकादेखि सुत्केरीको हेरचाहसम्म व्यवहारमै सुनिश्चित हुनुपर्छ।