

काठमाडौं । सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन्। मन्त्री चौधरीको निजी सचिवालयले कार्यविधि स्वीकृत भएको जानकारी दिएको हो।
कृषि मन्त्रालयका अनुसार अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई वितरण गरिनेछ।
सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ। सोही व्यवस्थाअनुसार यस वर्ष पनि किसानलाई अनुदान वितरण गर्न लागिएको हो। सरकारको यो अनुदानले उखु खेतीमा संलग्न किसानलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।