‘कुनै प्यानल छैन, मेरो नाममा आएका सूची आधिकारिक होइनन्’ : गगन थापा

‘कुनै प्यानल छैन, मेरो नाममा आएका सूची आधिकारिक होइनन्’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले १५औँ महाधिवेशनमा आफ्नो कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्। उनले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएसँगै थापाले विभिन्न उम्मेदवारको सूची आफ्नो नामसँग जोडेर प्रचार गरिएकोप्रति ध्यानाकर्षण गराएका हुन्।

उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई स्वस्थ र मर्यादित बनाउन प्रतिनिधिहरूले कुनै पनि अफवाह र भ्रममा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्नुपर्नेमा जोड दिएका छन्।

‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले भनेका छन्, ‘मेरो नाम जोडेर आएको सूची भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहोला।’

उनले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो मूल्याङ्कन, विश्वास र विवेकका आधारमा उम्मेदवार छनोट गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

यसैबीच, प्राविधिक कारणले मतदान एक दिन ढिलो सुरु भएकोप्रति थापाले महाधिवेशन प्रतिनिधिहरूसँग क्षमायाचना गरेका छन्। मतदानमा भएको ढिलाइले प्रतिनिधिहरूलाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै उनले सबैलाई मर्यादित, संयमित र उत्साहपूर्ण रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।