कांग्रेसको १५औँ महाधिवेशनमा मतदान सुरु, ७ हजारभन्दा बढी प्रतिनिधिले मत खसाल्दै

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान सुरु, ७ हजारभन्दा बढी प्रतिनिधिले मत खसाल्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने भनिएको मतदान केही ढिलोगरी सुरु भएको हो।

महाधिवेशनका ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेका छन्। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधिको कुल संख्या भने ७ हजार ३१७ रहेको छ।

निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि विभिन्न स्थानमा मतदान केन्द्र तोकेको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मत खसाल्नुपर्नेछ।

राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ।

त्यस्तै, हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधि र तराई–मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजानसमेत रोक लगाइएको छ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्। महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारी परेको पदअनुसार सम्बन्धित मतपत्रमा मतदान गर्नेछन्।

मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिको आकार बढाएर २९७ सदस्यीय बनाएको छ। नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानलाई कांग्रेसको भावी राजनीतिक दिशा र संगठनात्मक नेतृत्वका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।