कांग्रेस महाधिवेशन : असोज १९ गते उम्मेदवारी दर्ता, राष्ट्रिय सभागृहमा

कांग्रेस महाधिवेशन : असोज १९ गते उम्मेदवारी दर्ता, राष्ट्रिय सभागृहमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मनोनयनपत्र दर्ता गरिनेछ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी सूचनामा तोकिएको समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रमको विस्तृत तालिका भने पछि सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। हाल तय गरिएको कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने तयारी छ।

मनोनयन दर्ताको मिति तय भएसँगै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने पार्टीले जनाएको छ। महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने तयारी छ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि तथा उम्मेदवार बन्न योग्य सबैलाई तोकिएको समयभित्र मनोनयनपत्र दर्ता गर्न आग्रह गरेको छ।