

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने पुरुष एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकप २०२७ अक्टोबर २ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १४ टोलीले १२ वटा मैदानमा कुल ५७ खेल खेल्नेछन्।
विश्वकपको सुरुवात नामिबियाको राजधानी विन्डहोकमा हुने तीन टोलीबीचको सुपर सिरिजबाट हुनेछ। अक्टोबर २, ४ र ६ मा हुने यी खेलमा विश्वकप क्वालिफायरमा दोस्रो, तेस्रो र चौथो स्थानमा रहने तीन टोलीले प्रतिस्पर्धा गर्नेछन्। तीनमध्ये शीर्ष स्थानमा रहने टोली मात्र मुख्य समूह चरणमा प्रवेश गर्नेछ।
सन् २०२३ मा १० टोली सहभागी भएको विश्वकपमा यसपटक टोली संख्या बढाएर १४ पुर्याइएको छ। सेमिफाइनल र फाइनलअघि प्रतियोगिता तीन चरणमा विभाजन गरिएको छ-सुपर सिरिज, समूह चरण र सुपर-७।
सुपर सिरिजबाट एक टोली समूह चरणमा पुगेपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ६ टोली रहनेछन्। समूह चरणमा प्रत्येक टोलीले आफ्नै समूहका अन्य पाँच टोलीसँग एक–एक खेल खेल्नेछ। यस चरणमा कुल ३० खेल हुनेछन्।
दुवै समूहबाट शीर्ष तीनमा रहने टोली सुपर-७ चरणमा पुग्नेछन्। त्यस्तै दुवै समूहका चौथो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट एक टोलीले पनि सुपर–७ मा स्थान बनाउनेछ। यसरी सुपर-७ मा सात टोली पुग्नेछन्।
विश्वकप २०२७ को नयाँ र महत्वपूर्ण पक्ष सुपर-७ चरण हो। यस चरणमा पुगेका सातै टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन्। यस चरणमा कुल २१ खेल हुनेछन्। सुपर-७ चरणमा समूह चरणबाट प्राप्त अंक अगाडि लगिने छैन। प्रत्येक टोलीले नयाँ चरणमा ६ खेल खेल्नेछ। सुपर-७ का खेल अक्टोबर २५ देखि नोभेम्बर १४ सम्म सञ्चालन हुनेछन्।
सुपर-७ को अंकतालिकामा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो स्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग तथा दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानको टोलीसँग सेमिफाइनल खेल्नेछ।
पहिलो सेमिफाइनल नोभेम्बर १७ मा केपटाउन र दोस्रो सेमिफाइनल नोभेम्बर १८ मा त्स्वानेमा हुनेछ। फाइनल नोभेम्बर २१ मा जोहानेसबर्गस्थित वान्डरर्स मैदानमा खेलाइनेछ।
समूह चरणको पहिलो खेल अक्टोबर ७ मा केपटाउनमा साविक विजेता अस्ट्रेलिया र भारतबीच हुनेछ। त्यस्तै भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल अक्टोबर १० मा जोहानेसबर्गमा हुनेछ। दक्षिण अफ्रिकाले अक्टोबर ८ मा त्स्वानेमा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने सहआयोजक जिम्बाब्वेले अक्टोबर ९ मा बुलावायोमा क्वालिफायर टोलीसँग खेल्नेछ।
विश्वकपका खेल दक्षिण अफ्रिकाका आठ, जिम्बाब्वेका तीन र नामिबियाको एक गरी १२ मैदानमा सञ्चालन हुनेछन्। दक्षिण अफ्रिकामा केपटाउन, त्स्वाने, जोहानेसबर्ग, डर्बन, गक्बेरहा, ब्लोमफन्टेन, पार्ल र कुगोम्पो सिटीमा खेल हुनेछन्। जिम्बाब्वेमा हरारे, बुलावायो र भिक्टोरिया फल्स तथा नामिबियामा विन्डहोकमा खेल सञ्चालन हुनेछ।
यससँगै २४ वर्षपछि पुरुष एकदिवसीय विश्वकप अफ्रिका फर्किनेछ। दक्षिण अफ्रिका र जिम्बाब्वेले यसअघि सन् २००३ मा विश्वकप आयोजना गरेका थिए। नामिबियाले भने पहिलोपटक पुरुष वरिष्ठ विश्वकपका खेल आयोजना गर्दैछ।
आईसीसीले खेलतालिका सार्वजनिक गरेसँगै विश्वकपको टिकट बलटका लागि दर्ता प्रक्रिया पनि सुरु गरेको छ। प्रशंसकले अक्टोबर १ देखि टिकट बलटका लागि आवेदन दिन सक्नेछन्। आईसीसीका अनुसार यो प्रक्रिया ‘पहिले आउनेले पहिले टिकट पाउने’ आधारमा हुने छैन। टिकट बलटमा आवेदन दिँदैमा टिकट सुनिश्चित हुने छैन।
सहआयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेले आयोजकका रूपमा विश्वकपमा स्थान पक्का गरेका छन्। त्यसबाहेक ३० सेप्टेम्बर २०२६ को आईसीसी एकदिवसीय वरीयताका आधारमा भारत, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलंका र बंगलादेशले प्रत्यक्ष छनोट भएका छन्।
बाँकी चार स्थान विश्वकप क्वालिफायरबाट तय हुनेछन्। क्वालिफायरको विजेता टोली सिधै मुख्य समूह चरणमा पुग्नेछ भने दोस्रोदेखि चौथो स्थानसम्मका तीन टोलीले नामिबियामा हुने सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। दुईपटकको विश्व विजेता वेस्ट इन्डिज पनि क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
यसरी विश्वकप २०२७ मा सहभागी टोलीको संख्या १४ पुगे पनि उपाधिसम्मको यात्रा अघिल्ला संस्करणभन्दा फरक हुनेछ। सुपर सिरिज, समूह चरण र सुपर-७ पार गरेपछि मात्र टोलीहरू सेमिफाइनल र फाइनलको दौडमा पुग्नेछन्।