

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अक्टोबर १, २०२६ देखि लागू हुने गरी क्रिकेटका Playing Conditions मा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ नियम अक्टोबर १ वा त्यसपछि सुरु हुने नयाँ अन्तर्राष्ट्रिय शृङ्खलामा लागू हुनेछन् भने त्यसअघि नै सुरु भएका शृङ्खलामा पुरानै नियम कायम रहनेछन्।
आईसीसीका अनुसार नयाँ व्यवस्थाले खेलमा हुने समयको दुरुपयोग नियन्त्रण, बलको मापदण्डमा एकरूपता तथा फिल्डिङसम्बन्धी केही प्रावधानलाई थप स्पष्ट बनाउने उद्देश्य राखेको छ।
१. ब्याटरले समय खेर फाले ५ रन पेनाल्टी
ब्याटर निर्धारित समयभित्र बल फेस गर्न तयार नभएमा पहिलो पटक चेतावनी र दोस्रो पटक अन्तिम चेतावनी दिइनेछ। तेस्रो तथा त्यसपछिका पटक गल्ती दोहोरिएमा फिल्डिङ गर्ने टोलीलाई ५ पेनाल्टी रन दिइनेछ। जानाजान वा बारम्बार समय खेर फालेको अवस्थामा आचारसंहिताअन्तर्गत थप कारबाहीसमेत हुन सक्नेछ।
२. डे-टेस्टमा पिंक बल प्रयोग गर्न सकिने
खराब प्रकाशका कारण खेल रोकिने अवस्था कम गर्न दिउँसो खेलिने टेस्टमा पिंक बल प्रयोग गर्न सकिनेछ। यसको निर्णय खेल सुरु हुनुअघि दुवै टोलीको सहमतिमा हुनुपर्नेछ। एकपटक पिंक बल प्रयोग गर्ने निर्णय भएपछि खेलभरि त्यही बल प्रयोग गर्नुपर्नेछ र खेल सुरु भइसकेपछि रातो बलबाट पिंक बलमा परिवर्तन गर्न पाइने छैन।
३. अन्तिम ओभरमा विकेट गए पनि खेल तुरुन्त नरोकिने
दिनको अन्तिम ओभरमा विकेट गयो भन्दैमा खेल स्वतः समाप्त हुने छैन। ओभर पूरा नभएको अवस्थामा मौसम र खेलका अन्य अवस्था अनुकूल भए बाँकी बल पूरा गरिनेछ।
४. महिला र जुनियर क्रिकेटका बलको मापदण्ड स्पष्ट
महिला, पुरुष र जुनियर क्रिकेटमा प्रयोग हुने बलको आकार तथा तौलका लागि छुट्टाछुट्टै स्पष्ट मापदण्ड तय गरिएको छ। यसले महिला क्रिकेटमा प्रयोग हुने बलमा थप एकरूपता ल्याउने आईसीसीको अपेक्षा छ।
५. ओभरथ्रोसम्बन्धी नियम स्पष्ट
फिल्डरले रन रोक्न वा रनआउट गर्न स्टम्पतर्फ बल फाल्ने प्रयास गर्दा बल टाढा गएमा मात्रै त्यसलाई ओभरथ्रो मानिनेछ। बल रोक्ने क्रममा भएको सामान्य मिसफिल्ड वा अर्को फिल्डरलाई बल दिने क्रममा बल टाढा गएमा त्यसलाई ओभरथ्रो मानिने छैन।
६. रनआउट र स्टम्पिङमा बलमाथि पूर्ण नियन्त्रण आवश्यक
रनआउट वा स्टम्पिङ गर्दा स्टम्प भाँच्ने समयमा फिल्डरको हातमा बलमाथि पूर्ण नियन्त्रण हुनुपर्नेछ। बललाई छोएको मात्र अवस्थामा स्टम्प भाँचिए ब्याटरलाई आउट दिन मिल्ने छैन।
७. ‘फाइनल्ली सेटल्ड’ बलबारे अम्पायरलाई थप अधिकार
अब बल अन्तिम रूपमा नियन्त्रणमा आएको मान्नका लागि बल अनिवार्य रूपमा बलर वा विकेटकिपरकै हातमा हुनुपर्ने छैन। परिस्थितिअनुसार अम्पायरले बल ‘फाइनल्ली सेटल्ड’ भएको निर्णय गर्न सक्नेछन्।
८. टी-२० अन्तर्राष्ट्रियमा १५ मिनेटको इनिङ्स ब्रेक
टी-२० अन्तर्राष्ट्रियमा दुई इनिङ्सबीचको अन्तराल अब १५ मिनेटको हुनेछ। खेलमा समय गुमेको अवस्थामा उक्त अन्तराललाई न्यूनतम १० मिनेटसम्म घटाउन सकिनेछ।
९. ड्रिंक्स ब्रेकमा मुख्य प्रशिक्षक मैदानमा जान पाउने
ओडीआई र टी-२० अन्तर्राष्ट्रियमा निर्धारित ड्रिंक्स ब्रेकका क्रममा मुख्य प्रशिक्षक वा उनको प्रतिनिधिले मैदानमा प्रवेश गरी खेलाडीसँग रणनीतिबारे छलफल गर्न पाउनेछन्।
१०. लेग-साइड वाइडको नियम स्थायी
ओडीआई र टी-२० अन्तर्राष्ट्रियमा परीक्षणका रूपमा लागू हुँदै आएको लेग–साइड वाइडसम्बन्धी व्यवस्था अब Playing Conditions मै स्थायी रूपमा समावेश गरिएको छ।
आईसीसीले यी परिवर्तनले क्रिकेटलाई थप स्पष्ट, छरितो र आधुनिक बनाउने अपेक्षा गरेको छ। नयाँ Playing Conditions पुरुष तथा महिला क्रिकेटका विभिन्न फर्म्याटमा अक्टोबर २०२६ संस्करणका रूपमा प्रकाशित गरिएको छ।