

काठमाडौं । नेपालबाट मनसुन बाहिरिने औसत मिति शुक्रबार अर्थात् अक्टोबर २ भए पनि यस वर्ष मनसुन केही दिन ढिलो बाहिरिने भएको छ। मौसमविद्का अनुसार अब एक-दुई दिनभित्र पश्चिम नेपालबाट मनसुन बाहिरिने प्रक्रिया सुरु हुने देखिएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार शुक्रबार नै मनसुन बहिर्गमनसम्बन्धी औपचारिक बुलेटिन जारी हुने सम्भावना छैन। ‘मनसुन बहिर्गमनसम्बन्धी बुलेटिन आजै जारी हुने सम्भावना छैन। अब एक–दुई दिनभित्र, अर्थात् केही दिनपछि पश्चिम नेपालबाट मनसुन बाहिरिएको घोषणा गर्छौँ,’ अधिकारीले भने।
मौसमविद्का अनुसार मनसुन एकैपटक देशभरबाट बाहिरिँदैन। यो पश्चिमी भूभागबाट क्रमशः पूर्वतर्फ सर्दै कोसी प्रदेशबाट बाहिरिन्छ। त्यसैले मनसुन पूर्ण रूपमा देशबाट बाहिरिन केही दिन लाग्छ।
मनसुन बाहिरिने वातावरण बन्दै गएसँगै देशमा पश्चिमी वायुको प्रभाव पनि फैलिन थालेको अधिकारीले बताए। उनका अनुसार अहिले नेपालमा मनसुनी र पश्चिमी दुवै वायुको मिश्रित प्रभाव छ। मनसुन पूर्ण रूपमा बाहिरिएपछि पश्चिमी वायुको प्रभाव बढ्दै जाने र क्रमशः मौसम चिसिँदै जानेछ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो। यस वर्ष भने मनसुन जुन १९ अर्थात् असार ५ गते कोसी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि क्रमशः फैलिँदै जुन ३० अर्थात् असार १६ गते देशभर पुगेको थियो। मनसुन अवधिमा नेपालमा मुख्यतः मनसुनी अर्थात् पूर्वी वायुको प्रभाव रहन्छ भने मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव बढ्दै जान्छ।
मनसुन पूर्ण रूपमा बाहिरिएपछि पोस्ट-मनसुन अर्थात् उत्तरमनसुन सुरु हुन्छ। अक्टोबर र नोभेम्बरलाई पोस्ट-मनसुन मौसम मानिन्छ। त्यसपछि डिसेम्बरदेखि फेब्रुअरीसम्म हिउँद र मार्चदेखि मेसम्म प्रि-मनसुन रहने गर्छ। नेपालको मौसमलाई सामान्यतया प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र हिउँद गरी चार भागमा वर्गीकरण गरिन्छ।
शुक्रबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्नेछ।
राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा आंशिक बदलीसँगै बिहानपख हुस्सु लाग्न सक्नेछ।
कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।काठमाडौं उपत्यकामा भने शुक्रबार वर्षाको सम्भावना न्यून रहेको छ। मौसमविद् अधिकारीका अनुसार दिउँसो वा साँझ काठमाडौं उपत्यकामा सामान्य वर्षाको सम्भावना करिब २० प्रतिशत मात्र रहेको छ।