नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८९ करोड

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८९ करोड

काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक बिहीबार झिनो अंकले बढेर करिब स्थिर रहेको छ। यस दिन नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा बन्द भएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३५३ स्टकको ५१ हजार ७४५ पटकको कारोबारबाट ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको १ करोड २० लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत तथा इमर्जिङ नेपाल लिमिटेडको ७.५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९.६६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले असोज १६ गते बुक क्लोज गर्दैछ। लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेकाले बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ।

त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको करिब २२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको घटेको छ। बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन्।व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ भने लगानी उपसमूहको परिसूचक स्थिर रहेको छ।