

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले नेपालमा हाल कायम मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ। निगमका अनुसार मूल्य नबढाउँदा पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँभन्दा बढी घाटा हुनेछ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट बुधबार नयाँ खरिद मूल्य प्राप्त भएकोमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा मूल्य बढेर आएको निगमले जनाएको छ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको छ। भारतबाट मूल्यवृद्धि भएर आए पनि हाललाई नेपालमा सबै पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरिएको निगमले जनाएको छ।
भोटेकोसी क्षेत्रमा आएको असाधारण बाढीपहिरोबाट सिर्जित परिस्थिति, नजिकिँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य समायोजन नगरिएको निगमले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
निगमका अनुसार मूल्य यथावत् राखिएसँगै पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललगायत क्षेत्र छन्।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर निर्धारण गरिएको छ। यसैगरी, १४.२ किलोग्रामको एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत् राखिएको निगमले जनाएको छ।