महाकाली नदीको बहावले झोलुङ्गे पुलमा क्षति, आवागमन अवरुद्ध

महाकाली नदीको बहावले झोलुङ्गे पुलमा क्षति, आवागमन अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेपछि आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको हो ।

पुलको करिब ५-६ मिटर भाग माथितर्फ उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएको प्रहरीले जनाएको छ । पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो ।

पुलमा क्षति पुगेपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ । क्षतिग्रस्त पुलको मर्मत तथा आवागमन सञ्चालनका लागि सम्बन्धित निकायबाट पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त झोलुङ्गे पुल नेपालका लामो झोलुङ्गे पुलमध्ये एक हो । यसलाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ ।