

बाजुरा । नेपाली कांग्रेसको आधिकारिकता तथा चुनाव चिह्न ‘रुख’सम्बन्धी विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै शेरबहादुर देउवा पक्षले कुनै पक्षले आफूलाई विजेता घोषणा नगर्न आग्रह गरेको छ।
बुधबार बाजुरामा पत्रकार सम्मेलन गर्दै देउवा पक्षले अदालतमा विचाराधीन विषयमा भ्रम सिर्जना गर्ने गरी प्रचार नगर्न आग्रह गरेको हो। कांग्रेसको आधिकारिकता विवादलाई लिएर देउवा पक्षले यसअघि पनि सर्वोच्च अदालतमा कानुनी प्रक्रिया अघि बढाएको छ।
देउवा पक्षका तर्फबाट जिल्ला संयोजक धनराज पण्डितले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशी, पूर्वजिल्ला सभापति कविराज पण्डित, नेता नारायण पाध्याय, रनसिंह अयडी र नरबहादुर रावतलगायत सहभागी थिए।
पूर्वजिल्ला सभापति कविराज पण्डितले पार्टीको आधिकारिकता र ‘रुख’ चुनाव चिह्नसम्बन्धी कानुनी लडाइँ जारी रहेको बताए।
‘कानुनी लडाइँ जारी छ। अहिले कांग्रेस र रुख कसको भन्ने विषय सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो अवस्थामा “मेरो” भन्दै जनतालाई भ्रम फैलाउने काम गलत हो। अदालतले फैसला गर्न बाँकी रहेको विषयमा आफैँ फैसला गरेजस्तो प्रस्तुत गर्नु उचित हुँदैन,’ उनले भने।
पण्डितले सर्वोच्चमा विचाराधीन विवादलाई बेवास्ता गर्दै वडा तथा पालिका अधिवेशनको प्रक्रिया अघि बढाइएकोप्रति पनि असहमति जनाए। आफ्नो पक्षको असहमति पार्टी विभाजन वा दुईवटा कांग्रेस बनाउने उद्देश्यले नभएको उनले बताए।
‘हामी विशेष विषयमा मात्रै असहमत छौँ। दुई हुने वा पार्टी फुटाउने हाम्रो नियत होइन,’ उनले भने।
कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशीले पार्टीभित्र विधि, विधान र तथ्यका आधारमा अघि बढ्नुपर्ने बताए। आफ्नो पक्षमा नरहेको तथ्यलाई फरक ढंगले प्रस्तुत गरेर जनमत निर्माण गर्ने प्रयास प्रभावकारी नहुने उनको दाबी थियो।
‘छलकपट होइन, विधि र विधानअनुसारको राजनीति गर्नुपर्छ। भ्रम र झुटबाट मुक्त भएर अघि बढ्नुपर्छ। दाबी गर्दैमा कुनै कुरा सत्य हुँदैन,’ जोशीले भने।
पत्रकार सम्मेलनमा सहभागी नेताहरूले देउवा नेतृत्वको समूहले पार्टीका कार्यकर्तालाई भ्रमित नपार्ने दाबी गर्दै आफ्नो पक्षलाई कमजोर देखाउने गरी भइरहेका प्रचारको जवाफ आगामी अधिवेशनमा कार्यकर्ताको सहभागिताबाट आउने बताएका छन्।
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जानकारी दिएको छ। यसअघि देउवा पक्षले १५औँ महाधिवेशनका लागि जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। बाजुराका लागि हर्कजंगबहादुर सिंहलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको विवरण सार्वजनिक भएको छ।
नेता रनसिंह अयडीले कांग्रेसको नेतृत्वसम्बन्धी विभिन्न दाबीका विषयमा समेत प्रश्न उठाउँदै एक पक्षले पार्टीलाई आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाए। उनले पार्टीभित्रको असहमति विचार र विधिको विषय भएको र यसलाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताए।
कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा देउवा पक्षले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। प्रकाशित विवरणअनुसार देउवा पक्षले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका बनाएर संगठनात्मक गतिविधि अघि बढाएको छ।