शाहरुखको ‘किङ’ले रिलिजअघि नै ८०० करोड कमाएको दाबी

शाहरुखको ‘किङ’ले रिलिजअघि नै ८०० करोड कमाएको दाबी

मुम्बई । शाहरुख खान अभिनीत बहुप्रतीक्षित फिल्म ‘किङ’ले प्रदर्शनमा आउनुअघि नै ८०० करोड रुपैयाँ बराबरको व्यापार गरेको दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर उक्त दाबीलाई फिल्मका निर्माताले अहिलेसम्म आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

भाइरल पोस्टअनुसार फिल्मको भारतका लागि थिएट्रिकल राइट्स २५० करोड रुपैयाँ, ओटीटी अधिकार २६० करोड, टेलिभिजन अधिकार १५० करोड, संगीत अधिकार करिब ५० करोड तथा विदेशी प्रदर्शन अधिकार ९० करोड रुपैयाँमा बिक्री भएको दाबी गरिएको छ।

यी रकम जोड्दा ‘किङ’को प्रि-रिलिज कारोबार ८०० करोड रुपैयाँ पुग्ने देखिन्छ। तर ओटीटी, टेलिभिजन, संगीत र विदेशी अधिकारसम्बन्धी उल्लेखित रकमको स्वतन्त्र तथा आधिकारिक पुष्टि भने उपलब्ध छैन। विदेशी अधिकार ९० करोड रुपैयाँमा बिक्री भएको दाबीलाई पनि आधिकारिक वा विश्वसनीय ट्रेड स्रोतले पुष्टि नगरेको विवरण सार्वजनिक भएको छ।

यद्यपि, फिल्मको भारतका लागि २५० करोड रुपैयाँको थिएट्रिकल डिल भएको समाचार भने विभिन्न ट्रेड रिपोर्टले उल्लेख गरेका छन्।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’मा शाहरुख खानसँगै सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपुर, रानी मुखर्जी, जैकी श्रफलगायत कलाकार छन्। फिल्म डिसेम्बर २०२६ मा प्रदर्शन हुने तयारीमा छ।

फिल्मको बजेट र अन्य अधिकार बिक्रीबारे यसअघि पनि विभिन्न दाबी सार्वजनिक हुँदै आएका छन्। निर्देशक सिद्धार्थ आनन्दले ४५० करोड रुपैयाँ बजेटसम्बन्धी एउटा रिपोर्टलाई सामाजिक सञ्जालमा ‘False’ भन्दै खण्डन गरेका थिए।