यस पटकको बाढीमा जोगियो सुस्ता : समयमै सुरक्षा निकाय र स्थानीयको तत्परता

यस पटकको बाढीमा जोगियो सुस्ता : समयमै सुरक्षा निकाय र स्थानीयको तत्परता

-पुरुषोत्तम सुवेदी-

पश्चिम नवलपरासी, असोज १४ गते । अविरल वर्षासँगै उग्र बनेको नारायणी नदीको बाढीले यस पटक पनि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्तीलाई जोखिमको घेरामा पार्‍यो। तर, विगतका वर्षको तुलनामा यस पटकको दृश्य फरक रह्यो।

बाढीको जोखिम उच्च हुनुअघि नै सुरक्षा निकाय र स्थानीयवासीले देखाएको तत्परता, समन्वय र सहकार्यका कारण करिब १ हजार १ सय सुस्तावासीलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सफल भयो। यसले सम्भावित ठूलो मानवीय क्षति हुनबाट सुस्तालाई जोगाएको छ।

समयमै गरिएको उद्धार र सुरक्षित स्थानान्तरणकै कारण भीषण वर्षा र नारायणीको बढ्दो बाढीका बीच पनि सुस्तावासी सुरक्षित रहन सफल भएका हुन्।

बाढीको जोखिम बढ्दै गएपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका प्रमुख गोविन्दबहादुर खत्री तथा प्रहरी नायब उपरीक्षक मदन थापा केसी आफैँ सुस्ता पुगेर उद्धारमा खटिएका थिए। सुरक्षा निकायका प्रमुखहरू नै अग्रपंक्तिमा रहेर उद्धारमा जुटेपछि स्थानीयवासीमा थप आत्मविश्वास र हौसला बढेको स्थानीयको भनाइ छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सुस्ताका स्थानीय बासिन्दा काँधमा काँध मिलाएर उद्धार तथा स्थानान्तरणमा जुटे। जोखिममा रहेका बालबालिका, वृद्धवृद्धा, महिला तथा अन्य स्थानीयलाई सुस्ता वारीस्थित बीपी माध्यमिक विद्यालयको भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको थियो।

विपद्को समयमा सुरक्षा निकाय र स्थानीयवासीबीच देखिएको समन्वय र शीघ्र प्रतिकार्यप्रति सुस्तावासीले प्रशंसा गरेका छन्। सुस्तावासी रवीन्द्र जयसवालले बाढी बढ्दै जाँदा आफूहरू निकै त्रसित भए पनि सुरक्षाकर्मीका प्रमुखहरू नै फिल्डमा आएर उद्धारमा खटिएको देख्दा ठूलो ढाडस मिलेको बताए।

‘बाढी बढ्दै जाँदा हामी निकै डराएका थियौँ। तर सुरक्षा प्रमुखहरू नै आफैँ फिल्डमा आएर खटिनुभएको देख्दा ठूलो ढाडस मिल्यो। समयमै उद्धार नभएको भए ठूलो दुर्घटना हुन सक्थ्यो। सुरक्षाकर्मी साथीहरूको यो योगदानप्रति हामीलाई गर्व छ,’ उनले भने।

त्यस्तै, अर्का स्थानीय मुन्सी कुमारले आपत्कालीन अवस्थामा सुरक्षा निकाय र स्थानीयवासीबीच भएको सहकार्यकै कारण ठूलो क्षति हुन नपाएको बताए। ‘आपत्कालीन समयमा सुरक्षा निकाय र सुस्तावासीबीच जुन सहकार्य देखियो, त्यसैका कारण आज हामी जोगिएका छौँ। सुरक्षाकर्मी र गाउँलेको संयुक्त प्रयासले ठूलो क्षति हुन दिएन। समयमै भएको स्थानान्तरण हाम्रा लागि वरदान साबित भयो,’ उनले भने।

सुस्तामा यस पटक देखिएको उद्धार तथा स्थानान्तरणको प्रभावकारी अभ्यासले समयमै सूचना, सुरक्षा निकायको सक्रियता र स्थानीय समुदायको सहकार्य भए विपद्को जोखिम न्यूनीकरण गर्न सकिने सन्देश दिएको छ।