

बागलुङ । बागलुङमा पछिल्ला तीन दिनमा आएको बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा पहिरोले घर पुरिँदा मानवीय क्षति भएको हो।
ताराखोला गाउँपालिका-५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्। यसअघि शनिबार पनि ताराखोला गाउँपालिकामै पहिरोमा परी एक जनाको मृत्यु भएको थियो। यससँगै ताराखोलामा मात्रै बाढीपहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
त्यसैगरी, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन्। निसीखोला गाउँपालिकामा पनि आइतबार पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।