मुम्बईमा प्रदर्शनको अनुमति नपाएपछि ‘जेल भरो आन्दोलन’ गर्ने सीजेपीको घोषणा

मुम्बईमा प्रदर्शनको अनुमति नपाएपछि ‘जेल भरो आन्दोलन’ गर्ने सीजेपीको घोषणा

काठमाडौं । भारतको कक्रोच जनता पार्टी (सीजेपी)ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै नयाँ आन्दोलन घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जालमार्फत अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने चेतावनी दिएका हुन्। सीजेपीले यसअघि अक्टोबर २ देखि मुम्बईबाट देशव्यापी विरोध प्रदर्शन सुरु गर्ने घोषणा गरेको थियो।

मुम्बई प्रहरीले भने सीजेपीलाई शिवाजी पार्कमा अक्टोबर २ को प्रदर्शन गर्न अनुमति दिएको छैन। प्रहरीका अनुसार शिवाजी पार्कमा सभा आयोजना गर्न अनुमति दिने अधिकारसम्बन्धी कानुनी बन्दोबस्तका कारण अनुमति अस्वीकार गरिएको हो। प्रहरीले प्रदर्शनका लागि अन्य स्थान खोजेर पुनः अनुमति माग्न सुझाव दिएको जनाएको छ।

प्रहरीको निर्णयपछि दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नागरिकको आवाज दबाउने प्रयास स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन्। प्रदर्शनको अधिकार नदिइए गान्धी जयन्तीका दिन मुम्बईमा ‘जेल भरो आन्दोलन’ सुरु गर्ने उनको भनाइ छ।

सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा, स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) स्थगन तथा जनवरी २०२५ को मतदाता सूची पुनःस्थापनालगायत माग अघि सारेको छ। साथै निर्वाचन आयोगसम्बन्धी सन् २०२३ को कानुन खारेज गरी आयोगमा सुधार गर्नुपर्ने माग पनि सीजेपीले राखेको छ। सीजेपीले अक्टोबर २ मा मुम्बईबाट विरोध प्रदर्शन सुरु गरी त्यसलाई भारतका अन्य सहरमा विस्तार गर्ने जनाएको छ।