

काठमाडौँ । असोज ९ गतेदेखि प्रदर्शनरत चलचित्र ‘आचार्य’का दृश्य तथा भिडियो क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सार्वजनिक हुन थालेपछि अभिनेता, निर्देशक तथा निर्माता निखिल उप्रेतीले फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन्।
निखिलले आइतबार भिडियो सन्देश जारी गर्दै चलचित्र निर्माणमा हुने लगानी, त्यससँग जोडिएको निर्माताको सपना तथा नेपाली फिल्मले भोग्दै आएका चुनौतीलाई बुझिदिन दर्शकसँग आग्रह गरेका हुन्। उनले आफ्नो भ्युज बढाउने उद्देश्यले हलमा चलचित्र हेर्दाका दृश्य लामो समयसम्म सामाजिक सञ्जालमा राख्ने प्रवृत्तिले निर्माताको लगानी र व्यवसायमा प्रत्यक्ष असर पार्ने बताए।
‘आफ्नो भ्युज बढाउनका लागि १० मिनेट, १५ मिनेट, २० मिनेटसम्मको फुटेज सामाजिक सञ्जालमा राखिदिन्छौँ। यसले गर्दा निर्माताको त्यत्रो लगानी र व्यवसायमा कति धक्का दिन्छ भन्ने हामीले सोच्नुपर्छ,’ निखिलले भनेका छन्।
चलचित्र निर्माणमा ठूलो मेहनत र लगानी हुने भएकाले केही क्षणको मनोरञ्जन वा भ्युजका लागि फिल्मका दृश्य सार्वजनिक नगर्न उनले आग्रह गरे। ‘यो मलाई मात्रै होइन, कुनै पनि फिल्ममा यस्तो नगरियोस्। निर्माताको त्यत्रो लगानी र व्यापारमा खेलवाड नगरिदिनुहोस्,’ उनले भिडियो सन्देशमा भनेका छन्।
निखिलले सबै मिलेर फिल्म पाइरेसीको विरोध गर्नुपर्नेमा समेत जोड दिएका छन्। ‘आचार्य’मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापतीको मुख्य भूमिका रहेको छ। चलचित्रले दर्शकबाट राम्रो साथ पाइरहेको निर्माण टिमको दाबी छ।