‘नेपाल कलिङ’पछि पर्यटनमा फर्किँदै लय, बंगलादेशबाट १८५ जनाको टोली आयो

‘नेपाल कलिङ’पछि पर्यटनमा फर्किँदै लय, बंगलादेशबाट १८५ जनाको टोली आयो

काठमाडौं । भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानपछि विदेशी पर्यटक तथा कर्पोरेट समूहको आगमन बढ्न थालेको हो।

यसैक्रममा बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ प्रतिनिधि बिहीबार नेपाल भ्रमणमा आएका छन्। उनीहरूलाई नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा तथा ढाका टोपी लगाएर स्वागत गरेका थिए।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन सुरक्षाबारे नकारात्मक धारणा देखिएपछि मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसम्बद्ध संघसंस्थाले नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्दै आएका छन्।

रसुवा, धादिङ, गोरखा र नुवाकोटका केही प्रभावित क्षेत्रबाहेक अन्य प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित रहेको जानकारी प्रवाह गरिएको छ। ‘नेपाल कलिङ’ अभियानपछि वाल्टन प्लाजाका प्रतिनिधि नेपाल आएका हुन्। थप ३० जना प्रतिनिधि पनि छिट्टै नेपाल आउने कार्यक्रम रहेको जनाइएको छ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक शर्माले प्राकृतिक विपद्पछि यति ठूलो कर्पोरेट समूहको आगमनलाई नेपालको पर्यटन सुरक्षाबारे सकारात्मक सन्देशका रूपमा लिन सकिने बताए।

नेपाल भ्रमणमा आएका बंगलादेशी पाहुनाले यहाँको आतिथ्यप्रति खुसी व्यक्त गर्दै नेपाल सुरक्षित, पर्यटकका लागि खुला र स्वागतका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले अन्य पर्यटकलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरेका छन्।

वाल्टन प्लाजाको भ्रमणले नेपाल र बंगलादेशबीचको पर्यटन तथा कर्पोरेट सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ। यसैबीच, भारतसहित सार्क राष्ट्रका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि नेपालका विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गरी नेपाल सुरक्षित रहेको सन्देशसहितका तस्वीर तथा अनुभव सार्वजनिक गरिरहेका छन्।