आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदाको प्रस्ताव

आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदाको प्रस्ताव

काठमाडौं । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदा दिने प्रस्ताव गरेको छ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिँदै अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी भइरहेको बताएकी छन्।

मन्त्री गौतमका अनुसार बदलिँदो जीवनशैली तथा कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका छन्। यस्तो अवस्थामा मातृत्व र पितृत्वको महत्वपूर्ण समयमा अभिभावकलाई नवजात शिशु तथा परिवारसँग पर्याप्त समय बिताउने अवसर दिनु राज्यको दायित्व रहेको उनको भनाइ छ।

‘बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन,’ मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत भनेकी छन्। उनले प्रस्तावित व्यवस्थालाई सुरक्षित मातृत्व तथा अभिभावकत्वका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत परिवर्तनका रूपमा व्याख्या गरेकी छन्।