

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका सनाखत हुन नसकेका १९९ वटा शव व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गलमा ती शव आइतबार रातिसम्म व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २७२ वटा शव फेला परेका छन्। तीमध्ये १२ वटाको सनाखत भएको छ भने १९९ वटा सनाखत हुन नसकेका शव व्यवस्थापन गरिएको हो।
व्यवस्थापन गरिएका शवको डीएनए नमुना सुरक्षित राखिएको छ। भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डीएनए परीक्षण मिलेको अवस्थामा शव पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउन सकिने गरी सङ्केत चिह्नसमेत राखिएको पौडेलले बताए।
सनाखत भएका शवको पोस्टमार्टमपछि परिवारले बुझेर लगेका छन्। फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा मानव अवशेष रहेका छन्।
नदी किनार तथा आसपासका क्षेत्रमा थप शव भेटिने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको छ।