पावो लोब्गा राङ्जेनको बलिदानले फेरि जागेको तिब्बतको मुद्दा

पावो लोब्गा राङ्जेनको बलिदानले फेरि जागेको तिब्बतको मुद्दा

तिब्बतको स्वतन्त्रता र तिब्बती पहिचानको संरक्षणका लागि लामो समयदेखि सक्रिय ५२ वर्षीय तिब्बती अभियन्ता पावो लोब्गा राङ्जेनले संयुक्त राष्ट्रसंघको मुख्यालयअगाडि आत्मदाह गरेपछि तिब्बतको राजनीतिक तथा मानवअधिकारको मुद्दाले पुनः अन्तर्राष्ट्रिय ध्यान खिचेको छ।

लोब्गा राङ्जेनका नामले परिचित लोसाङ पाल्देनले सन् २०२६ जुलाई २ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअगाडि तिब्बती राष्ट्रिय झन्डासहित आत्मदाह गरेका थिए। गम्भीर अवस्थामा उनलाई बेलभ्यु अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। न्युयोर्क प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको थियो।

आत्मदाह गर्नुअघि राङ्जेनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश प्रत्यक्ष प्रसारण गरेका थिए। उनले आफ्नो कदम व्यक्तिगत समस्याका कारण नभई तिब्बतको स्वतन्त्रता, तिब्बती पहिचान र तिब्बती जनताको अधिकारका लागि भएको बताएका थिए। साथै, उनले तिब्बती समुदायलाई एकताबद्ध भएर स्वतन्त्रताको अभियानलाई निरन्तरता दिन आह्वान गरेका थिए।

उनको आत्मदाह चीनको नयाँ ‘जातीय एकता तथा प्रगति प्रवर्द्धन कानुन’ लागू भएको भोलिपल्ट भएको थियो। जुलाई १ देखि कार्यान्वयनमा आएको उक्त कानुनलाई लिएर तिब्बती तथा उइघुर समुदायसहित मानवअधिकारसम्बन्धी संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आलोचकहरूले यसले चीनका जातीय अल्पसंख्यक समुदायमाथि सांस्कृतिक तथा राजनीतिक समायोजनको दबाब अझ बढाउन सक्ने बताएका छन्।

तिब्बतदेखि निर्वासनसम्म

पूर्वी तिब्बतमा जन्मिएका राङ्जेन किशोरावस्थापछि भारत निर्वासनमा पुगेका थिए। उनी बौद्ध भिक्षु बनेर भारतको गादेन जाङ्त्से गुम्बामा लामो समय अध्ययन तथा धार्मिक जीवनमा संलग्न रहे। पछि अमेरिका पुगेका उनी दुई दशकभन्दा बढी समयदेखि तिब्बतसम्बन्धी अभियानमा सक्रिय थिए।

अमेरिकामा रहँदा उनले तिब्बतको स्वतन्त्रता, मानवअधिकार तथा तिब्बती भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि आयोजना गरिने प्रदर्शन, भोकहडताल तथा विभिन्न अभियानमा सहभागिता जनाउँदै आएका थिए। उनी न्युयोर्कस्थित तिब्बती समुदायमा परिचित अभियन्ताका रूपमा रहेका थिए।

उनले आत्मदाहका लागि संयुक्त राष्ट्रसंघको मुख्यालयअगाडिको स्थान रोज्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। विश्वका राष्ट्रहरूको प्रतिनिधित्व गर्ने संस्थाको ढोकाअगाडि आफ्नो जीवन अन्त्य गर्दै उनले तिब्बतको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन खोजेको उनका सहकर्मी तथा समर्थकहरूको बुझाइ छ।

विश्वभर तिब्बती समुदायको प्रतिक्रिया

राङ्जेनको मृत्युपछि अमेरिका मात्र नभई विभिन्न मुलुकमा रहेका तिब्बती समुदायले श्रद्धाञ्जली सभा, प्रार्थना तथा प्रदर्शन आयोजना गरेका छन्। इन्टरनेसनल क्याम्पेन फर तिब्बटका अनुसार न्युयोर्कको टाइम्स स्क्वायरमा आयोजित कार्यक्रममा करिब दुई हजार मानिस सहभागी भएका थिए। उक्त कार्यक्रममा अभिनेता तथा लामो समयदेखि तिब्बत समर्थक रहँदै आएका रिचर्ड गेयरसमेत सहभागी भएका थिए।

ताइवानमा पनि तिब्बती तथा तिब्बत समर्थकहरूले राङ्जेनको आत्मदाह भएको एक महिना पुगेको अवसरमा प्रदर्शन गर्दै तिब्बतको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। त्यस्तै, स्विट्जरल्यान्डको जुरिचमा अगस्ट ५ मा १३ वटा तिब्बती संस्थाको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण मैनबत्ती जुलुसमा सात सयभन्दा बढी मानिस सहभागी भएका थिए।

मानवअधिकारको प्रश्न फेरि चर्चामा

एम्नेस्टी इन्टरनेसनलले घटनापछि तिब्बतमा लामो समयदेखि जारी मानवअधिकारसम्बन्धी समस्यामाथि अन्तर्राष्ट्रिय समुदायले पुनः गम्भीर ध्यान दिनुपर्ने बताएको छ। संस्थाका अनुसार तिब्बतीहरूले धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला, भाषा तथा सांस्कृतिक अधिकारमा विभिन्न प्रतिबन्धको सामना गर्दै आएका छन्।

चिनियाँ पक्षले भने तिब्बतसम्बन्धी पृथकतावादी गतिविधिको विरोध गर्दै आएको छ। चीनले तिब्बत आफ्नो अभिन्न हिस्सा भएको बताउँदै आएको छ। नेपालमा आयोजना हुने भनिएको तिब्बती अध्ययनसम्बन्धी सम्मेलनलाई नेपाल सरकारले अन्तिम समयमा रोकेको विषयले पनि तिब्बतसम्बन्धी बहसलाई नेपालमा चर्चामा ल्याएको छ।

राङ्जेनको आत्मदाहले तिब्बती समुदायभित्र लामो समयदेखि जारी राजनीतिक बहसलाई पनि पुनः सतहमा ल्याएको छ। निर्वासनमा रहेका तिब्बतीहरूबीच स्वतन्त्र तिब्बतको माग र चीनभित्र वास्तविक स्वायत्तता खोज्ने ‘मध्यम मार्ग’ लगायतका रणनीतिबारे फरक-फरक धारणा रहँदै आएका छन्।

तर राङ्जेनको मृत्युपछि विश्वका विभिन्न भागमा भएका प्रदर्शन र श्रद्धाञ्जली कार्यक्रमले एउटा साझा विषयलाई पुनः केन्द्रमा ल्याएको छ-तिब्बती पहिचान, संस्कृति, मानवअधिकार र राजनीतिक भविष्यको प्रश्न। उनको आत्मदाहले तिब्बतको मुद्दालाई फेरि एकपटक विश्व समुदायसामु उभ्याएको छ।

न्युयोर्कमा विशाल प्रदर्शन

अगस्ट १२ मा अमेरिकाको न्युयोर्कमा विशाल र्‍यालीसहित प्रदर्शन गरिएको छ। आयोजकका अनुसार उक्त र्‍यालीमा स्वतन्त्र तिब्बतका अभियन्ता तथा तिब्बती समुदायका करिब ७ हजार व्यक्तिको सहभागिता रहेको थियो।

स्वतन्त्र तिब्बती पहिचानको पक्षमा आवाज उठाउँदै आएका तिब्बती अभियन्ता टासी दोर्जे जुपाले प्रदर्शनका क्रममा भने, ‘तिब्बत हाम्रो देश हो। तिब्बतको स्वतन्त्रताका लागि राङ्जेनजस्ता हजारौँ योद्धाहरू आफूलाई जिउँदै जलाउन तयार छन्। हामी उहाँको बलिदानलाई यसै खेर जान दिँदैनौँ। हामीले विश्वभरबाट साथ र माया पाइरहेका छौँ। एक दिन हामी सफल भएरै छाड्छौँ।’

राङ्जेनको बलिदानपछि विश्वका विभिन्न ठाउँमा उठेका आवाजले तिब्बतको राजनीतिक भविष्य, सांस्कृतिक पहिचान र मानवअधिकारको प्रश्नलाई पुनः अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

स्रोतः न्युयोर्क टाइम्स