

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ। नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता सहकार्यको सहमति भएपछि नेतृत्व परिवर्तन हुने चर्चा चले पनि एमाले नेतृत्वले आचार्यलाई नै सरकारको नेतृत्वमा कायम राख्ने निर्णय गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलपछि आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको बताइएको छ।
मुख्यमन्त्री आचार्यले पनि उक्त सहमतिको पुष्टि गर्दै आफूलाई नै प्रदेश सरकारको नेतृत्वमा निरन्तरता दिने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार अब नेकपासँग सत्ता सहकार्य तथा नयाँ सरकार गठनका विषयमा थप छलफल अघि बढाइनेछ।
केन्द्रमा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य अन्त्य भएपछि लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समीकरण बन्ने प्रक्रिया सुरु भएको छ। एमाले र नेकपाबीच सहकार्यको सहमति भएसँगै प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा राजनीतिक वृत्तमा व्यापक चर्चा भएको थियो।
मुख्यमन्त्री आचार्यसँगै एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलगायत केही नेताहरू पनि मुख्यमन्त्रीका आकांक्षी रहेको चर्चा भए पनि पार्टी नेतृत्वले अन्ततः आचार्यलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको छ।