

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत थिए। लामो प्रशासनिक अनुभव भएका उनी अब मुलुकको निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन्।
मुख्यसचिव नियुक्तिसँगै कार्कीले सरकारका विभिन्न मन्त्रालयबीच समन्वय, प्रशासनिक नेतृत्व तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी निर्वाह गर्नेछन्। सरकारले उनको नेतृत्वमा प्रशासनिक सुधार र सुशासनलाई थप सुदृढ बनाउने अपेक्षा गरेको छ।