‘पार्वती’को डबिङ अन्तिम चरणमा, दीपाश्री भन्छिन्- ‘कथा अपेक्षाभन्दा उत्कृष्ट छ’

‘पार्वती’को डबिङ अन्तिम चरणमा, दीपाश्री भन्छिन्- ‘कथा अपेक्षाभन्दा उत्कृष्ट छ’

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पार्वती’को डबिङ कार्य तीव्र रूपमा अघि बढिरहेको छ। चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गरिसकेकी छन्।

डबिङपछि प्रतिक्रिया दिँदै दीपाश्रीले चलचित्रको कथा आफूले अपेक्षा गरेभन्दा निकै उत्कृष्ट रहेको बताइन्। फरक शैलीमा प्रस्तुत गरिएको भावनात्मक कथा र मन छुने पटकथाले आफूलाई निकै प्रभावित बनाएको उनको भनाइ छ।

चलचित्र ‘पार्वती’ को निर्देशन अभिनेत्री तथा निर्देशक नीता ढुंगानाले गरेकी हुन्। चलचित्रमा नीता स्वयं, दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट र राधिका कँडेललगायत कलाकारहरूको प्रमुख अभिनय रहेको छ।

हरिहर अधिकारीको निर्माण रहेको चलचित्रको कथा तथा पटकथा शिवम् अधिकारीले तयार पारेका हुन्। चलचित्रमा सुदीप बरालको छायांकन र साहिल खानको सम्पादन रहेको छ।

निर्माण टिमले डबिङसहितका प्राविधिक काम अन्तिम चरणमा पुगेको जनाएको छ। चलचित्र आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।