

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको छ। ७८ मिनेटसम्म दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम १५ मिनेटमा खेलको चित्र नै उल्ट्याउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकपमा इजिप्टले सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको १५औँ मिनेटमा यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाए। सन् २०२२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका इब्राहिमको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो। ३३ वर्ष १४७ दिनको उमेरमा उनले विश्वकपको नकआउट चरणमा गोल गर्दै इजिप्टका लागि यस्तो उपलब्धि हासिल गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमानसमेत बनाए।
६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल थपेपछि अर्जेन्टिनाको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिने लगभग निश्चित देखिएको थियो। तर त्यसपछि मैदानमा अर्जेन्टिनाले अद्भुत पुनरागमनको कथा लेख्यो।
७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए। निर्धारित समयपछि थपिएको इन्जुरी समयको तेस्रो मिनेट (९०+३) मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को सनसनीपूर्ण जित दिलाए।
फर्नान्डेजको निर्णायक गोलपछि मैदानमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। गोलबारे विवाद भएपछि इजिप्टका टिम स्टाफ साफान एल्साघेरले रातो कार्ड पाए भने गोलरक्षक मोस्तफा शोबिर र हम्दी फाथी पहेँलो कार्डको भागीदार बने।
यस खेलमा लियोनल मेसीले पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेनन्। निर्धारित ९० मिनेटपछि रेफ्रीले सात मिनेट अतिरिक्त समय दिएका थिए, जसले अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन सम्भव बनायो।
यो जितसँगै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। प्रतियोगिताको अन्तिम आठको समीकरण पनि लगभग पूरा भएको छ। यसअघि फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड र अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् भने अन्तिम स्थानका लागि स्विट्जरल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा भएको थियो।
क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।