‘केही महिनामै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ’ – उद्योगमन्त्री

‘केही महिनामै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ’ – उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग केही महिनाभित्र पुनः सञ्चालनमा आउने दाबी गरेकी छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कुमारीले उद्योगको मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताइन्।

उनका अनुसार उद्योगको मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ। उक्त रकम उद्योगमा पुगिसकेको र आवश्यक मर्मत कार्यसमेत सुरु भइसकेको उनले जानकारी दिइन्।

‘हेटौँडा कपडा उद्योगको मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ निकासा भइसकेको छ। मर्मतको काम पनि अघि बढेको छ,’ उनले भनिन्, ‘केही महिनाभित्रै उद्योग सञ्चालनमा आउने विश्वास दिलाउन चाहन्छु।’

मन्त्री कुमारीले सरकारले स्वदेशी उद्योग पुनर्जीवनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै व्यापार घाटा न्यूनीकरणका लागि विभिन्न योजना कार्यान्वयन भइरहेको पनि बताइन्।

उनले नेपाल–अमेरिका व्यापार सम्झौताअन्तर्गत प्राप्त ड्युटी–फ्री र कोटा–फ्री सुविधाको अवधि समाप्त भइसकेकाले त्यसलाई निरन्तरता दिन अमेरिकी सरकारसमक्ष औपचारिक अनुरोध गरिएको जानकारी पनि दिइन्।

सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन, उद्योग सञ्चालन र निर्यात विस्तारमार्फत मुलुकको व्यापार सन्तुलन सुधार गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइरहेको मन्त्री कुमारीको भनाइ छ।