देशभर मनसुन सक्रिय : काठमाडौंसहित धेरै क्षेत्रमा आज वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय : काठमाडौंसहित धेरै क्षेत्रमा आज वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (मंगलबार) काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिएको छ।

महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी र तराई भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोसी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा औसत स्थानभन्दा दक्षिणतर्फ र पश्चिमी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले वर्षा हुने क्रम अझै जारी रहने सम्भावना छ।

महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्ने सम्भावना पनि रहेकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका केही स्थान तथा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौं उपत्यकामा बिहान घाम र बादल दुवै देखिए पनि दिउँसोपछि बदली बढ्दै मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उनले मौसममा अचानक परिवर्तन हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र वर्षा तथा चट्याङबाट बच्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।