अमेरिकाले २५०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनायो, खराब मौसमबीच ऐतिहासिक आतसबाजी

अमेरिकाले २५०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनायो, खराब मौसमबीच ऐतिहासिक आतसबाजी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा देशभर विविध कार्यक्रमसहित ‘अमेरिका २५०’ उत्सव भव्य रूपमा मनाएको छ। सन् १७७६ जुलाई ४ मा उत्तर अमेरिकाका १३ बेलायती उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग भएको ऐतिहासिक दिनको सम्झनामा ५० वटै राज्यमा परेड, सांगीतिक कार्यक्रम र आतसबाजी आयोजना गरिएको हो।

यद्यपि, खराब मौसम, अत्यधिक गर्मी र आँधीबेहरीका कारण केही स्थानका कार्यक्रम प्रभावित भएका थिए। त्यसका बाबजुद पनि लाखौँ अमेरिकी नागरिक उत्सवमा सहभागी भएका थिए।

राजधानी वासिङ्टन डीसीस्थित नेसनल मलमा आयोजित ह्वाइट हाउसको ‘फ्रिडम २५०’ कार्यक्रम चट्याङ र आँधीबेहरीका कारण केही समयका लागि स्थगित गरिएको थियो। मौसम विभागको चेतावनीपछि सुरक्षाका दृष्टिले हजारौँ सहभागीलाई कार्यक्रमस्थल खाली गराएर नजिकका सरकारी भवन, सङ्ग्रहालय तथा अस्थायी आश्रयस्थलमा सारिएको थियो।

यस्तै, फिलाडेल्फियाको बेन्जामिन फ्र्याङ्कलिन पार्कवेमा आयोजना गरिएको ‘वन फिलीः युनिटी कन्सर्ट फर अमेरिका’ पनि प्रतिकूल मौसमका कारण बीचमै रोकिएको थियो। कार्यक्रममा चर्चित कलाकार क्रिस्टिना अगुइलेरा र विल स्मिथको प्रस्तुति तय गरिएको थियो। अत्यधिक गर्मीका कारण वासिङ्टन डीसीको स्वतन्त्रता दिवस परेड पनि रद्द गरिएको थियो।

मौसममा सुधार आएपछि नेसनल मल पुनः खोलिएको थियो। त्यसपछि राति राष्ट्रपति डोनाल्ड ट्रम्पले समारोहलाई सम्बोधन गर्दै प्रतिकूल मौसमका बाबजुद कार्यक्रममा सहभागी बनेका नागरिकलाई धन्यवाद दिए।

उनले २५०औँ स्वतन्त्रता दिवस ऐतिहासिक अवसर भएकाले कुनै पनि कारणले कार्यक्रम स्थगित नगर्ने अडान लिएको उल्लेख गर्दै, “यो हाम्रो इतिहासको विशेष दिन हो, यसलाई कुनै पनि कुराले रोक्न सक्दैन,” भने।

ट्रम्पको सम्बोधनपछि वासिङ्टन डीसीमा करिब ४० मिनेटसम्म इतिहासकै सबैभन्दा ठूलो आतसबाजी प्रदर्शन गरिएको थियो। ‘पाइरोटेक्निको’ कम्पनीले तयार पारेको उक्त प्रदर्शनमा करिब ८ लाख ५० हजार वटा पटाका प्रज्वलन गरिएको जनाइएको छ। यद्यपि, यसबाट वायु प्रदूषण बढ्न सक्ने भन्दै राष्ट्रिय निकुञ्ज सेवाले पूर्वचेतावनी दिएको थियो।

उता, न्युयोर्कमा हडसन नदीमा ऐतिहासिक पानीजहाज र लडाकु विमानहरूको विशेष परेड आयोजना गरिएको थियो। ब्रुकलिन ब्रिज क्षेत्रमा आतसबाजीकै क्रममा आगलागी भए पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएकाले कुनै मानवीय क्षति भएको छैन।

यस अवसरमा अमेरिकाका जीवित चार पूर्वराष्ट्रपति—बिल क्लिन्टन, जर्ज डब्लु. बुस, बाराक ओबामा र जो बाइडेन—ले शुभकामना सन्देश जारी गर्दै लोकतान्त्रिक मूल्य, स्वतन्त्रता र त्यसका लागि गरिएको बलिदानको स्मरण गरेका छन्। पूर्वराष्ट्रपति क्लिन्टनले भने आफ्नो सन्देशमा वर्तमान प्रशासनका केही नीतिप्रति आलोचनात्मक टिप्पणी गरेका थिए।

यस्तै, आप्रवासन नीतिका विषयमा ट्रम्प प्रशासनसँग मतभेद राख्दै आएका पोप लियो चौधौँले इटालीको लाम्पेडुसास्थित आप्रवासीहरूको समाधिस्थलमा प्रार्थना गरेका थिए। त्यसपछि उनले होली सीका लागि अमेरिकी राजदूत ब्रायन बर्चसँग भेट गर्दै अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको शुभकामना आदानप्रदान गरेका थिए।