

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश गरेको स्पष्ट पार्दै उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित वा गलत मनसाय नदेखिएको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा भएको उक्त घटनाबारे नेपाली र भारतीय सम्बन्धित निकायबीच आवश्यक सम्पर्क तथा समन्वय भइरहेको जानकारी दिए।
उनले दार्चुला क्षेत्रको भौगोलिक अवस्था र खराब मौसमका कारण हेलिकप्टर केही समय नेपाली भूभागमा प्रवेश गरेको उल्लेख गर्दै यसलाई नियोजित गतिविधिका रूपमा नहेर्नुपर्ने बताए।
मन्त्री खनालले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको पनि बताए। साथै, नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध समाधान गर्न सरकारले निरन्तर प्रयास गरेको र त्यसको सकारात्मक परिणाम प्राप्त भएको दाबी गरे।
उनका अनुसार गत जेठमा भारत भ्रमणका क्रममा उच्चस्तरीय तहमा भएको छलफलपछि भारतले आफ्नो नीतिमा आवश्यक परिमार्जन गरेको छ, जसका कारण नेपाली चियाको भारत निर्यात अहिले सहज बनेको छ।
परराष्ट्रमन्त्री खनालले भारतसँगको व्यापार तथा निर्यातमा देखिएका अन्य समस्याको समाधानका लागि पनि नेपाल सरकारले निरन्तर कूटनीतिक संवाद अघि बढाइरहेको बताए। उनका अनुसार परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा निकाय तथा भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग नियमित समन्वय र संवाद जारी राखेका छन्।