नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्ने, यस्तो छ लक्ष्य

नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्ने, यस्तो छ लक्ष्य

काठमाडौं : नेत्रहीनहरुले खेल्ने टी-२० विश्वकप क्रिकेट खेलिसकेको नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप खेल्दैछ। पाकिस्तानमा हुने पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमार्फत नेपालले ५० ओभरको विश्वकपमा आफ्नो उपस्थिति जनाउन लागेको हो।

टि–२० विश्वकपको अनुभव बटुलिसके पनि नेपाल अहिलेसम्म नकआउट चरणमा पुग्न सकेको छैन। तर नेपाल पहिलो पटक खेल्न लागेको एकदिवसीय विश्वकपलाई भने यादगार बनाउने लक्ष्यमा रहेको छ।

यही जनवरी ७ देखि २१ सम्म हुने नेत्रहीन एकदिवसिय विश्वकप पाकिस्तान र युएईले संयुक्त रुपमा आयोजना गर्दै छ। जहाँ नेपाल र आयोजक पाकिस्तानहसित कूल ६ टिमको सहभागिता रहनेछ।

सुरक्षाका कारण देखाउँदै अन्तिम समयमा ३ राष्ट्रले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि ६ टिमबीच प्रतिस्पर्धा हुने भएको हो।

आयोजकले एसियाका राष्ट्र बाहेक अन्य देशको खेल दुबईमा मात्र राखे पनि ३ देशले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन्। त्यसैले पनि राउन्ड रोविन हुने प्रतियोगितामा नेपालले २ खेल जित्ने सके पनि सेमिफाइनल यात्राको लागि पर्याप्त रहेने छ।

२ देशबीच राजनितिक रुपमै ठुलो शत्रुता भएपनि भारतले भने पाकिस्तान भ्रमण गर्दैछ। वेस्ट इन्डिज, साउथ अफ्रिका र इंग्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आफ्नो सहभागिता रद्द गरेको थियो।

नेपाली टिमका प्रशिक्षक रिजन प्रजु र कप्तान कृतन श्रेष्ठ दुवाल पनि नेपालको सेमिफाइनल यात्रा टाढा देख्दैनन्। ‘यसपटक हामीले धेरै मिहेनत गरेका छौँ। कमजोर रहेको ब्याटिङमा पनि निकै सुधार आएको छ। भारत र पाकिस्तानबाहेक अन्य देशसँगको जित खासै टाढा छैन। यसअघि पनि हामीले बलियो मानिएका साउथ अफ्रिका र न्युजिल्यान्डमाथि जितको रेखा कोर्न सफल भइसकेका छौँ।’ प्रशिक्षक रिजन बताउँछन्। प्रशिक्षकको भनाईमा समर्थन गर्दै कप्तान कृतन भन्छन् ‘जितका लागि नतिजा भन्दापनि मिहेनत आवश्यक हुन्छ। त्यसैले हाम्रा साथीले उत्कृष्ट गर्न सके सहभागिता यागदागर हुनेछ।’

विश्वकपका लागि नेपालले विगत ५ महिनादेखि आफ्नो तयारी गरिरहेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरले बताए। यसअघिका भएका ४ संस्करणमा आर्थिक अभावका कारण सहभागिता जनाउन नपाएको नेपालले यो पटक भने सहभागितालाई ठुलो सफलताको रुपमा लिएको छ। सीमित श्रोत साधनमा नेपाली नेत्रहीन क्रिकेट आफ्नो सहभागितालाई नै ठुलो सफलताको रुपमा लिन बाध्य छन्।

यद्यपि, नेत्रहीन क्रिकेट संघले अपर्याप्त श्रोतमा आफ्नो छोटो समयको तयारी गरेको थियो। गत भदौमा टिम छनोट गरेको संघले १५ दिनमात्र विशेष क्याम्प राख्न बाध्य भयो। तर, संघ, खेलाडी र स्वयं प्रशिक्षक भने कम लगानी र थोरै समयमै विश्वकपमा आफूहरुले ऐतिहासिक सफलता देखेको बताउँछन्।

यसपटक नेपाली नेत्रहीन क्रिकेट टोलीले प्रायोजकको साथ समेत पाएको छ। गत कात्तिकमा नेपाल नेत्रहीन क्रिकेट संघलाई साहास स्पोर्ट्सले ३ वर्षको लागि प्रायोजन समेत गरेको छ। जसअनुसार पाकिस्तान जाने जाने खेलाडी, प्रशिक्षक र अन्य अफिसियल गरी २१ जनाको सबै जर्सी सेट साहास स्पोर्ट्सले उपलब्ध गराउनेछ।

नेपालको पहिलो खेल बंगलादेशसँग

नेपालले जनवरी ८ मा बंगलादेशसँग पहिलो खेल खेल्दै नेत्रहीन एकदिवसिय विश्वकपको सुरुवात गर्नेछ। उक्त खेल पाकिस्तानको लाहोरमा हुनेछ। यसअघि सन् २०१२ को टि–२० विश्वकपमा बंगलादेशलाई हराए पनि अहिले उनीहरुले ठुलो फड्को मारेका संघका अध्यक्ष घिमिरेको भनाई छ।

नेपालले दोस्रो खेल जनवरी ९ मा बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्नेछ। उक्त खेल पाकिस्तानको फैसलावादमा हुनेछ। त्यसको भोलिपल्ट जनवरीमा १० फैसलावादमै घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले चुनौती प्रस्तुत गर्नेछ। भारत र पाकिस्तान पछिल्लो संस्करणका विजेता र उपविजेता समेत हुन्।

राउण्ड रोविन लिगको बाँकी २ खेल खेल्न नेपाल ११ जनवरीमा दुबई प्रस्थान गर्नेछन्। नेपालले चौथो खेल १३ जनवरीमा दुबईको अजमानमा अस्ट्रेलियासँग खेल्नेछ। अजमानै जनवरी १५ मा श्रीलंकाविरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ।

पहिलो सेमिफाइनलमा १७ जनवरीमा अजमान ओभल क्रिकेट मैदान र दोस्रो सेमिफाइनल १८ जनवरीमा अजमानको एमसिसी क्रिकेट मैदानमा हुनेछ। फाइनल खेल जनवरी २१ मा लाहोरको गद्दाफि स्टेडियममा हुनेछ।

यसअघि सन् १९९८ मा भएको पहिलो नेत्रहीन एकदिवसिय विश्वकप साउथ अफ्रिकाले जितको थियो। त्यसपछि भने सन् २००२ र २००६ मा पाकिस्तानले लगातार दुई पटक उपाधि जितेको थियो। पछिल्लो पटक सन् २०१४ मा भारत च्याम्पियन बनेको थियो। पहिलोपोष्टबाट