आज पनि केही क्षेत्रमा वर्षा र हिमपात, तराईमा गर्मीको सम्भावना

आज पनि केही क्षेत्रमा वर्षा र हिमपात, तराईमा गर्मीको सम्भावना

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोसी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोसी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। यस अवधिमा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ।

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो दिनको अवस्था रहने महाशाखाले जनाएको छ।

राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सामान्य रहने अनुमान गरिएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, पर्यटक तथा यात्रुलाई हिमपात र वर्षाका कारण सतर्कता अपनाउन आग्रह गरेको छ।