

काठमाडौं । शनिबार बिहानैदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षासँगै हिमपात भइरहेको छ। ती प्रदेशका केही स्थानमा वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको हो।
पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावका कारण सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको महाशाखाको भनाइ छ।
पछिल्लो तीन घन्टामा सिमिकोट विमानस्थलमा ६.९ मिलिमिटर पानी परेको छ। त्यस्तै कालीकोटको विजयपुरमा ३.२ मिलिमिटर, बैतडीमा २.२ मिलिमिटर वर्षा मापन भएको छ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात भइरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा लगायत कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहने पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि सम्भावना छ।
शनिबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा राति पनि हल्का वर्षाको सम्भावना रहनेछ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।