

काठमाडौँ । नेपाल प्रहरीले असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै देशका विभिन्न राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले आज दिउँसो जारी गरेको सूचनाअनुसार पृथ्वीराजमार्गसहित विभिन्न राजमार्गमा निश्चित समयका लागि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, देशभर मनसुन सक्रिय रहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावतमा रोक लगाइएको छ।
मकवानपुरमा कान्ति राजमार्ग तथा भैँसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौँ आउने सडकमा पनि बेलुका ७ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ।त्यस्तै, बिपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डमा पनि आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। भारी वर्षाका कारण हुनसक्ने बाढी, पहिरो तथा सडक अवरोधबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्न र यात्रुको सुरक्षालाई ध्यानमा राखी रात्रिकालीन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ।